मङ्पु: मङपू रङ्बी बीचकमान क्षेत्रमा जंगली भालूको आतंक बढेपछि स्थानीयवासी त्रसित बनेका छन्। भालुले हालसम्म २५ वटाभन्दा बढी बाख्रा खाइसकेको स्थानीयले बताएका छन्। भालूको आतंकका कारण ग्रामवासी एक सातादेखि रातभर जागै बस्न बाध्य छन्।स्थानीयवासीले वन विभागलाई जंगली भालूलाई चाँडै नियन्त्रणमा लिएर सुरक्षित स्थानमा लैजान अपील गरेका छन्। वन विभागले गाउँवासीलाई सतर्क रहन आग्रह गर्दै राती तथा दिउँसो माइकिङ गर्ने क्रम जारी राखेको छ। सिन्चेल वाइल्डलाइफ ईस्ट जोनका रेन्जर प्रिया ब्लोनको नेतृत्वमा जंगली भालूको खोजी अभियान सञ्चालन भइरहेको छ। गाउँका विभिन्न क्षेत्रमा कतिवटा भालू छन् भन्ने पहिचान गर्न वन विभागले ३५ वटा सीसीटीभी क्यामेरा जडान गरेको छ।आईतवारदेखि भालूलाई नियन्त्रणमा लिन केज (खोर) राखिने वन विभागले जनाएको छ। सिन्कोना बगानका चौकीदार तथा वन विभागका कर्मचारीले २४ घण्टा नै भालूको खोजी अभियान जारी राख्नेछन्।





