गान्तोक: विभिन्न क्षेत्रमा उल्लेखनीय कार्य गर्ने अनि विशेष उपलब्धी हासिल गर्ने राज्यका मंगर समुदायका विभिन्न व्यक्तित्वलाई आज राजधानीमा एउटा कार्यक्रमबीच अभिनन्दन जनाइयो। कार्यक्रमको आयोजना मगरजोङ लिटरेरी मेगाजिनले गरेको थियो। यस अवसरमा जम्मा ११ जनालाई मगर गौरव सम्मान र मगरजोङ युवा सम्मान जनाइयो। कार्यक्रममा सिक्किम सरकारका ग्रामीण विकास मन्त्री अरुण उप्रेती मुख्य अतिथि रहेका थिए।
आजको कार्यक्रममा सिक्किम विधानसभाकी उपाध्यक्ष श्रीमती राजकुमारी थापा, सिक्किम सरकारका सचिवहरू नम्रता थापा र अन्नपुर्ण आले, आइपीएस अधिकारी ठाकुर थापा र लेखक सन्तोष आलेलाई मगर गौरव सम्मान प्रदान गरियो। यसरी नै फूटबल खेलाड़ी इभान थापा, चलचित्रकर्मी अनन्त थापा, शिक्षाविद डा. निलिमा मगर, अधिवक्ता हेमलाल मगर, रङ्गकर्मी दुर्गा राणा मगर र पुलिसकर्मी शेर बहादुर मगरलाई मगरजुङ युवा सम्मान प्रदान गरियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री उप्रेतीले युवा वर्गलाई जाति समुदायको परम्परा, भाषा-साहित्य, संस्कृति र कलाबारे जागरूक बनाउन आवश्यक रहेको बताए। यसै सन्दर्भमा बोल्दै प्रत्येक जातिको इतिहासलाई दस्तावेजीकरण गरिनुपर्ने कुरामा पनि उनले जोर दिएका थिए।










