गान्तोक: भारत र चीनबीचको ऐतिहासिक नाथुला सीमा व्यापार छ वर्षको लामो स्थगनपछि आजदेखि औपचारिक रूपमा पुनः सुरु भएको छ। ‘नो म्यान्स ल्यान्ड’ मा आयोजित विशेष समारोहका बीच भारतको सिक्किम सरकार र चीनको तिब्बत स्वायत्त क्षेत्र (टीएआर) का अधिकारीहरूले आपसमा सौगात साटासाट गरी सन् २०२६ को व्यापारिक सिजनको घोषणा गरेका हुन्।
उद्घाटनपछि शेराथाङस्थित ट्रेड मार्टमा विशेष समारोह आयोजना गरिएको थियो। कार्यक्रमका मुख्य अतिथि तथा सिक्किमका वाणिज्य एवं उद्योग, पर्यटन र नागरिक उड्डयन मन्त्री टीटी भोटियाले नाथुला व्यापार पुनः सञ्चालन हुनु सिक्किमको अर्थतन्त्रका लागि ऐतिहासिक उपलब्धि भएको बताए। “यसले सिक्किमको अर्थतन्त्रलाई मजबुत बनाउनेछ, रोजगारी सिर्जना गर्नेछ र स्थानीयका लागि जीविकोपार्जनका नयाँ अवसरहरू खुलाउनेछ,” मन्त्री भोटियाले भने।
भारत सरकारको ‘एक्ट इस्ट पोलिसी’, ‘पीएम गति शक्ति’ र ‘विकसित भारत’ को अवधारणासँग मिल्दोजुल्दो यो कदमले सिक्किमलाई व्यापार, पर्यटन र क्षेत्रीय सम्बन्धको रणनीतिक ढोकाका रूपमा स्थापित गर्ने विश्वास उनले व्यक्त गरे। मन्त्री भोटियाका अनुसार नाथुला नाकाबाट हुने व्यापार र मानसरोवर यात्राको पुनरोत्थानले यस क्षेत्रको सांस्कृतिक, आध्यात्मिक र व्यापारिक महत्त्वलाई थप बढाएको छ।
समारोहकी विशिष्ट अतिथि तथा क्षेत्र विधायक पामिन लेप्चाले यो ऐतिहासिक निर्णयले विशेष गरी ग्याथाङ र आसपासका सीमावर्ती गाउँका बासिन्दाहरूमा नयाँ उत्साह थपेको बताइन्। “यस व्यापारको मुख्य लाभ स्थानीय साना व्यापारी, यातायात व्यवसायी, मजदुर र युवाहरूले पाउनुपर्छ,” उनले भनिन्।
वाणिज्य एवं उद्योग विभागकी सचिव कर्म डी युत्सोका अनुसार गत वर्ष भारत सरकारबाट प्राप्त निर्देशनानुसार युद्धस्तरमा पूर्वाधार मर्मतसम्भार गरी नाका व्यापारका लागि तयार पारिएको हो। वातावरण संरक्षणलाई ध्यानमा राख्दै नाथुला र शेराथाङ क्षेत्रलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिएको र व्यापारीहरूलाई आफ्नो प्लास्टिकजन्य फोहोर आफैं फिर्ता लैजान अनिवार्य गरिएको जानकारी पनि उनले दिइन्।
समारोहका क्रममा सहभागी व्यापारीहरूलाई ‘सीमा व्यापार पास’ तथा क्याफेटेरिया सञ्चालनका लागि नियोग पत्र वितरण गरिएको थियो।
तीन व्यापारिक नाकामध्ये एक
द्विपक्षीय व्यापार सम्झौताअनुसार भारतीय व्यापारीहरूका लागि नाथुलाबाट १६ किलोमिटर टाढा तिब्बत क्षेत्रमा रहेको ‘रेनचिङगाङ’ मा ट्रेड मार्ट तोकिएको छ भने चिनियाँ व्यापारीका लागि भारततर्फको ‘शेराथाङ’ ट्रेड मार्ट तोकिएको छ।
सन् २००३ जुन २३ मा भारत र चीनबीच नाथुला पासमार्फत व्यापार विस्तार गर्ने सम्झौता भएको थियो। भारत र चीनबीच सीमा व्यापार हुने तीनवटा प्रमुख नाकाहरूमध्ये नाथुला एक हो। अन्य दुई नाकामा उत्तराखण्डको लिपुलेक र हिमाचल प्रदेशको शिपकी ला रहेका छन्।
उद्घाटन समारोहमा सिक्किम सरकारका मन्त्री समडुप लेप्चा, विभिन्न क्षेत्रका विधायकहरू, भारतीय सेना, सशस्त्र सीमा बल (आईटीबीपी), भन्सार अधिकारीहरू र दुवै देशका सीमा व्यापारी प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।










