खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय
अध्यक्ष अनित थापाले नामाङ्कन पत्र बुझाएका छन। तिनीसितै अन्य तीनजनाले पनि आज नामाङ्कन पत्र बुझाएका छन्। नामाङकन पत्र बुझाउन अघि खरसाङको मोटर स्ट्याण्डमा एउटा जनसभाको पनि आयोजना गरिएको थियो। उक्त सभालाई अनित थापाले सम्बोधन गरे। तिनले चुनाउ जितेर पहिलो जीटीए-को सभामा नै गोर्खाल्याण्ड निर्माणको प्रस्ताव ल्याउने दावी गरे। अनित थापा लगायत आज खरसाङ क्षेत्रको चारवटा समष्टिहरूबाट पार्टीको तर्फबाट जीटीए चुनाउको लागि नामाङ्कन पत्र बुझाए।खरसाङको दुईवटा समष्टिहरू खरसाङ गिद्ध पहाड़ अनि सिटोङ लाटपञ्चर समष्टिबाट पार्टी अध्यक्ष अनित थापा आफैले नामाङ्कन पत्र बुझाए। यसवाहेक, तीनधारे महानदी समष्टिबाट नवराज छेत्रीले, सौरेनी समष्टिबाट अरुण सिञ्जी र सोनादा पचेङ समष्टिबाट अनोश थापाले पनि आज आफ्ना समर्थकहरूसित उपस्थित रहेर जीटीए चुनाउको लागि नामाङ्कन भरेका छन्।











