पुस्तकालयसित हाम्रो स्वाभिमान अनि आत्मसम्मान जोड़िएको छ: पूर्ण गुरुङ ‘निरुपम’
खरसाङ: भारतमा गोर्खाहरूको सबैभन्दा जेठो संस्था गोर्खा जन पुस्तकालय खरसाङको ११४औँ स्थापना दिवस कार्यकारी समितिको उपाध्यक्ष प्रकाश प्रधानको अध्यक्षता अनि पुस्तकालयका पूर्व अध्यक्ष, नाटककार, लेखक पूर्ण गुरुङ ‘निरुपम’को प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। उक्त कार्यक्रम पुस्तकालयको डा. पारसमणि प्रधान प्रेक्षागृहमा सम्पन्न भयो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा साहित्य अकादेमी नेपाली भाषा परामर्श समिति सदस्या डा. आशा मुखिया लामा, पुस्तकालय पूर्व सचिव एलडी. मोक्तान, पूर्व अध्यक्ष एवम् वर्तमान कार्यकारी सदस्य एवं समाजसेवी तिलक शर्मा, स्वर्ण सदस्य सङ्गीत साधक एंव गजलकार गोविन्दसिंह घतानी, वरिष्ठ साहित्यकार, समालोचक एंव सूचना एवं सांस्कृतिक विभाग, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सह निर्देशक विमल राई आदि उपस्थित थिए।आफ्नो स्वागत सम्भाषणमा सचिव विनोद रसाइलीलले पुस्तकालयका संस्थापक व्यक्तिहरूको स्मरण गर्दै वर्तमान अवस्था अनि गतिविधि बारे प्रकाश पारे। यस कार्यकारी समितिले अक्षय कोष स्थापना गरेको जानकारी गराउँदै सचिव रसाइलीले अक्षय कोषमा पर्याप्त रकम सञ्चय गर्न सकिए सूदबाट नै पुस्तकालय सुचारु रूपले सञ्चालन गर्न सकिने जनाए। यसैगरी सचिव रसाइलीले गत वर्ष अध्ययन कक्षमा राख्ने ५० वटा कुर्सी सदस्यहरूले प्रदान गरेकोमा आभार व्यक्त गरे। उनले आगामी जुलाई महिनामा कार्यकारी समिति चुनाव हुने जानकारी गराए। कार्यक्रममा संस्थापक अनि दिवङ्गत सदस्यहरूका स्मरण गर्दै मौन धारण गरियो तथा १०८ दीप प्रज्ज्वलन गरिएको थियो।कार्यक्रममा बोल्दै पुस्तकालयका पूर्व अध्यक्ष, कर्मठ सदस्य एवम् वर्तमान कार्यकारी सदस्य तिलक शर्माले आफू पाँच दशकभन्दा अधिक समयदेखि पुस्तकालयसँग आबद्ध रहेको अनुभव साझा गरे। आगामी दिनमा पुस्तकालय अझ समृद्ध भएर जाने आशा व्यक्त गरे। पुस्तकालय अक्षय कोषमा अनुदान प्रदान गर्ने व्यक्तिहरू क्रमैले न्यायधीश शरदकुमार छेत्री, नयाँ बजार, बलराम राई, पूर्व निदेशक, आकाशवाणी खरसाङलाई कृतज्ञता पत्र प्रदान गरिएको थियो। यसै क्रममा यस वर्ष आजीवन सदस्यता ग्रहण गर्ने सदस्यहरू सजित खाइबा, खरसाङ बजार, एडविन छेत्री, सन्त मेरिज, दावा लामा, एमभी पथ, विजया ब्लोन, खरसाङ आदिलाई स्मृति चिन्ह प्रदान गरिएको थियो भने अध्ययन कक्षको कुर्सी प्रदान गर्ने सदस्यहरूलाई पनि मञ्चमा सम्मान गरिएको थियो।

कार्यक्रममा हालै पदोन्नति प्राप्त खरसाङका सुपुत्र मेजर जनरल मुनेषचन्द्र तामाङकी माता विजया ब्लोनलाई पनि सम्मान गरिएको थियो। कार्यक्रम प्रमुख अतिथि पूर्ण गुरुङ ‘निरुपम’ ले आफ्नो वक्तव्यमा पूर्वमा आफू उपाध्यक्ष अनि अध्यक्ष समेत रहेको उल्लेख गर्दै पुस्तकालयसित हाम्रो स्वाभिमान अनि आत्मसम्मान जोड़िएको बताए। समयमा यस पुस्तकालयले जातीय जागरणको विगुल फुकेको बताउँदै ख्यातिप्राप्त कवि , प्रशासनिक अधिकारी, समाजसेवी व्यक्ति र संस्थाहरूको पुस्तकालय आगमन अनि गतिविधि बारे प्रकाश पारे। यसका साथै गोजपुले नाट्य क्षेत्रमा गरेको योगदान बारे विस्तृत रूपमा बताए। कार्यक्रम अध्यक्षको वक्तव्यमा प्रकाश प्रधानले सांसद क्षेत्रीय विकास कोष मार्फत् निर्माण भएको ग्रन्थागार चाँड़ै उद्घाटन हुने आशा व्यक्त गरे। तिनले गोर्खा जन पुस्तकालय खरसाङको तर्फबाट सदस्य एवम् दाता सबैमा आभार पनि प्रकट गरे। कार्यक्रम शिक्षिका एवम् वरिष्ठ उद्घोषक गोमा सुब्बा प्रधानले सञ्चालन गरेकी थिइन्।










