काठमाडौं: भारत सरकारबाट सहयोगस्वरुप प्राप्त हुने १५ वटा मुर्रा जातका राँगाबाट नेपालले वार्षिक कम्तिमा एक लाख भैंसीमा कृत्रिम गर्भाधान गराइने लक्ष्य राखेको छ। मुर्रा राँगाबाट भैंसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधारमार्फत् भैंसीको दूध उत्पादनमा वृद्धि हुने आशा राखिएको छ। नेपालको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले १५ वटा मुर्रा जातका राँगाहरुबाट ३ वर्ष पश्चात वार्षिक कम्तिमा डेढ लाख डोज वीर्य उत्पादन हुने बताए। उत्पादिन मुर्रा जातका राँगाको वीर्यबाट कम्तीमा एक लाख भैंसीमा कृत्तिम गर्भाधान गराई नश्ल सुधारमार्फत् जन्मने भैंसीबाट दूध उत्पादनमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको जनाए।
भारतले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका दौरान मुर्रा जातको राँगा नि:शुल्क उपलब्ध गराउने घोषणा गरेको थियो। नेपालको कृषि मन्त्रालयले निःशुल्क उपलब्ध हुने मुराई राँगाको प्राविधिक पक्ष निरीक्षणका लागि विज्ञ एवं प्राविधिकहरु छिट्टै भारतस्थित सम्बन्धित सरकारी फार्ममा जाने तयारी भइसकेको जानकारी दियो। प्राविधिक पक्ष टुंगिएपश्चात भारतले भन्सार नाकासम्म मुर्रा जातका राँगा ल्याइदिने कृषि मन्त्रालयका प्रवक्ता सन्जालले बताए। मुर्रा जातका राँगाहरुलाई नेपालको पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालयहरुमा व्यवस्थापन गरी उच्च गुणस्तरको जमेको वीर्य उत्पादन गरी कृषकलाई कृत्रिम गर्भाधानका लागि उपलब्ध गराइने जनाइएको छ। नेपालले २०१८ मा ३० वटा मुर्रा जातका राँगा उपलब्ध गराउन भारतसँग अनुरोध गरेको थियो। २०२० मा औपचारिक रुपमा मुर्रा राँगा माग गरिएको थियो। २० जुन २०२३ मा भारतले मुर्रा राँगा निशुल्क उपलब्ध गराउने घोषणा गरेको छ। -हिस











