गान्तोक: नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको ऐतिहासिक अवसरमा सिक्किम सरकारका धार्मिक विभाग (इक्लेसिआस्टिकल डिपार्टमेन्ट) मन्त्री पूजनीय (वेन.) सोनाम लामाले वृक्षारोपण गरी आदिकविप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। मन्त्री लामाले गान्तोकस्थित ताथाङचेन आर्चरी ग्राउन्ड (धनुर्विद्या मैदान) को परिसरमा एक बिरुवा रोपेर यस विशेष कार्यक्रमको शुभारम्भ गर्नुभएको हो। नेपाली भाषा र साहित्यको उत्थानमा आदिकविले पुर्याउनुभएको अतुलनीय योगदानको सम्मान गर्दै यो वातावरणमैत्री पहल सुरु गरिएको धार्मिक विभागले जनाएको छ।ताथाङचेन आर्चरी एशोसिएशनका सदस्यहरूको समेत सक्रिय सहभागिता रहेको यस वृक्षारोपण कार्यक्रमले एकातिर नेपाली वाङ्मयका धरोहर आदिकवि भानुभक्त आचार्यको अजम्बरी विरासतलाई सम्मान गरेको छ भने अर्कोतिर वर्तमान समयमा अति आवश्यक मानिएको पर्यावरण संरक्षण र संवर्द्धनप्रतिको बलियो प्रतिबद्धतालाई उजागर गरेको छ। मन्त्री लामाले भानुभक्तको साहित्यिक योगदानले नेपाली समाजलाई एकताको सूत्रमा बाँधेको स्मरण गर्दै उहाँकै स्मृतिमा गरिएको यस वृक्षारोपणले प्रकृति र संस्कृतिको सुन्दर समन्वयलाई प्रस्तुत गरेको बताउनुभयो। सिक्किम सरकारले यस पवित्र दिनमा पर्यावरण जोगाउने सन्देश प्रवाह गर्दै राज्यभर सकारात्मक ऊर्जा थप्ने प्रयास गरेको यस प्रेस विज्ञप्तिमा उल्लेख छ।









