गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमले आफ्नो संगठन विस्तार तथा संगठनलाई थप सुदृढ बनाउने उद्देश्यका साथ चार नयाँ सदस्यलाई पार्टीमा स्वागत गरेको छ। आज भाजपा नगर कार्यालय गान्तोकमा आयोजित एक समन्वय बैठकका बीच उनीहरू औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्।
पार्टी प्रवेश गर्नेहरूमा साल्घारीका पूर्व भाजपा उम्मेदवार पहलमान कामी रहेका छन्, जो पुनः आफ्नै पुरानो घर फर्किएका हुन्। यसै गरी चाखुङका सामाजिक कार्यकर्ताद्वय येशू कुमार गुरुङ र किसन गुरुङका साथै रुमटेकका सेवानिवृत्त सरकारी अधिकारी मणी कुमार परियार पनि भाजपामा आबद्ध भएका छन्।
नवप्रवेशीहरूलाई भाजपा सिक्किमका प्रदेश अध्यक्ष डि.आर. थापाले पार्टीका वरिष्ठ पदाधिकारी तथा कार्यकर्ताहरूको उपस्थितिमा खदा ओढाएर औपचारिक स्वागत गरे।
सो अवसरमा बोल्दै प्रदेश अध्यक्ष थापाले नयाँ सदस्यहरूलाई पार्टीको विचारधारा, नीति–कार्यक्रम र सांगठनिक अनुशासनबारे स्पष्ट पारे। उनले मोदी सरकारका विभिन्न जनकल्याणकारी योजना र कार्यक्रमहरूको लाभ प्रत्येक वास्तविक लाभान्वितसम्म पुर्याउनका लागि तृणमूल तहमा निष्ठाका साथ काम गर्न आग्रह गरे। उनले सशक्त समाज र समृद्ध सिक्किम निर्माणका लागि सबै कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिए।
अध्यक्ष थापाले आगामी ‘सेवा सङ्कल्प अभियान’ का मुख्य उद्देश्य र विभिन्न पक्षबारे पनि चर्चा गर्दै उक्त कार्यक्रमलाई राज्यभर सफल बनाउन सक्रियताका साथ खटिन आह्वान गरे।
नयाँ नेतृत्व र कार्यकर्ताको प्रवेशले सिक्किममा तृणमूल तहसम्म भाजपाको सांगठनिक आधार थप मजबुत बन्दै गएको पार्टीले जनाएको छ।





