कालेबुङ: भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला समितिको आयोजनामा कालेबुङस्थित एक होटलमा जिल्ला स्तरीय ‘सेवा संकल्प अभियान’ कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा पार्टीका वरिष्ठ नेताहरू, निर्वाचित जनप्रतिनिधिहरू तथा संगठनका विभिन्न तहका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामा, जिल्ला उपाध्यक्षहरू शुभ प्रधान, बिनोद मोक्तान तथा कुमार चाम्लिङ, जिल्ला महासचिव राजु थुलुङ राई, जिल्ला महिला मोर्चा अध्यक्ष रोमा छेत्री, युवा मोर्चा अध्यक्ष नीरज बान्तवा राई साथै कालेबुङका विधायक भरत छेत्री, १२ जना जीटीए सभासदहरु, पञ्चायत समितिका सभापति तथा उप सभापतिहरू, दार्जिलिङ जिल्लाका विभिन्न मण्डलका पदाधिकारीहरू तथा जिल्ला समितिका सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामा, सुजेन्द्र राई, नीरज बान्तवा राई, रोमा छेत्री तथा योवन गुरुङले ‘सेवा संकल्प अभियान’ को उद्देश्य, महत्व तथा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशले हासिल गरेका विकासका उपलब्धिहरू बारे आफ्ना विचार राखेका थिए।
वक्ताहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले विकास, पूर्वाधार, जनकल्याण तथा सेवा क्षेत्रमा हासिल गरेको प्रगतिबारे चर्चा गर्दै ‘विकसित भारत’ निर्माणको संकल्पलाई जनस्तरसम्म पुर्याउनुपर्नेमा जोड दिए। साथै ‘सबका साथ, सबका विकास, सबका विश्वास, सबका प्रयास’ को मूल भावनाअनुसार समाजका सबै वर्गलाई समेट्दै समावेशी विकास र राष्ट्र निर्माणमा योगदान पुर्याउनुपर्ने धारणा व्यक्त गरे। ‘सेवा संकल्प अभियान’ प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक जीवन तथा प्रधानमन्त्रीका रूपमा नेतृत्वको २५ वर्षको यात्रालाई स्मरण गर्दै उनको नेतृत्वमा भएका विकास तथा जनकल्याणकारी कार्यहरूलाई जनसमक्ष पुर्याउने उद्देश्यले सञ्चालन भइरहेको बताइएको छ।
कार्यक्रमले दार्जिलिङ तथा कालिम्पोङ पहाडका भाजपा नेता, कार्यकर्ता तथा निर्वाचित जनप्रतिनिधिहरूबीच संगठनात्मक गतिविधि, जनसेवा तथा विकासका विषयमा विचार आदानप्रदान गर्ने महत्वपूर्ण अवसरसमेत प्रदान गरेको थियो।कार्यक्रमको अन्त्यमा उपस्थित भाजपा नेता तथा कार्यकर्ताहरूले संगठनलाई थप सुदृढ बनाउँदै ‘विकसित भारत’ निर्माणको संकल्पलाई जनस्तरसम्म पुर्याउने तथा जनसेवामा निरन्तर समर्पित भएर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।





