नयाँ दिल्ली: बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा अवामी लिगकी नेतृ शेख हसिना ले भारत र बंगलादेशबीच पछिल्लो समय देखिएको तनावप्रति टिप्पणी गर्दै आफ्नो कारणले दुई देशको सम्बन्ध बिग्रिएको दाबीप्रति आश्चर्य व्यक्त गरेकी छन्।
पत्रकारहरुसँगको विस्तृत अन्तर्वार्तामा हसिनाले बंगलादेशमा बोल्ने तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर हुँदै गएको आरोप लगाउँदै वर्तमान सरकारको भारतसम्बन्धी नीतिको आलोचना गरेकी छन्। लिखित जवाफ र टेलिफोन संवादमार्फत दिइएको अन्तर्वार्तामा उनले आफूले कहिल्यै भारत–बंगलादेश सम्बन्धमा तिक्तता ल्याउने उद्देश्य नराखेको स्पष्ट पारेकी छन्।
उनका अनुसार प्रधानमन्त्री तारिक रहमान भारत भ्रमण गर्न हिचकिचाउनुको एउटा कारण भारतले हसिनालाई बंगलादेश फिर्ता पठाउने माग स्वीकार नगर्नु हो। ब्रिक्स शिखर सम्मेलनका क्रममा रहमानको दिल्ली भ्रमण र औपचारिक स्वागतको तयारीबारे चर्चा चले पनि अन्ततः भ्रमण अनिश्चित बनेको बताइएको छ।
५ अगस्ट २०२६ मा आफूले गरेको प्रेस सम्मेलनले दुई देशको सम्बन्धमा असर पारेको सरकारी दाबीप्रति हसिनाले प्रश्न उठाउँदै भनिन्, “एउटा प्रेस सम्मेलनले भारत–बंगलादेश सम्बन्धलाई कसरी बिगार्न सक्छ?”
उनको व्यंग्यात्मक प्रश्न थियो- “म यति शक्तिशाली छु भन्ने मलाई नै थाहा थिएन।”





