खरसाङ: भारतीय जनता पार्टी खरसाङका प्रतिनिधि मण्डलले खरसाङ महकुमा शासक तथा खरसाङ महकुमा पुलिस अधिकारीसँग भेट गरी खरसाङ नगरपालिका सम्बन्धित सम्पूर्ण फाइलहरूको सुरक्षाको माग गर्दै ज्ञापन पत्र बुझाएका छन्। भाजपा टोलीले केही महत्वपूर्ण फाइलहरूमा छेडछाड गर्ने प्रयास भइरहेको भन्ने जानकारी आएको भन्दै ती फाइनलहरु सुरक्षित राखिन पर्ने माग राख्दै महकुमा शासक र महकुमा पुलिस अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन्। यसको साथै राजनीतिक नियुक्तिको आधारमा राखिएको नगरपालिका प्रशासकलाई तत्काल हटाउन पनि भाजपा प्रतिनिधि टोलीले माग गरेका छन्। यस टोलीमा भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला उपाध्यक्ष आरबी लामा, जिल्ला सचिव बिनय प्रसाद, अनुप गदाल, अधिवक्ता रमेश अग्रवाल, जिल्ला मिडिया प्रभारी चन्दन प्रसाद लगायत अन्यहरु उपस्थित रहेका थिए।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भाजपाको पक्षबाट अनुप गदाल र अधिवक्ता रमेश अग्रवालले विस्तृत रुपमा जानकारी गराउँदै भने, भाजपा जनताको पक्षमा सधैं दृढ रूपमा उभिएको छ। जनताले हामीलाई जुन विश्वासका साथ मत दिनुभएको हो, त्यो विश्वासलाई कहिल्यै टुट्न दिइने छैन। सबै भ्रष्टाचारको निष्पक्ष छानबिन गरिनेछ र दोषीहरूलाई कानूनी कारबाही गर्दै जेलको ढोका सम्म पुराउने माग गरेका छन्।










