हामी जनताको लागि विकास, पारदर्शिता र विश्वसनीयताको साथमा काम गर्नेछौँ: बिनय प्रसाद
खरसाङ: भारतीय जनता पार्टीको आयोजनामा खरसाङमा भएको विराट बिजय उत्सव ऱ्यालीमा खरसाङका जनता खुलेर बाहिर निस्केर साथ दिएकोमा भारतीय जनता पार्टी खरसाङबाट सम्पूर्ण खरसाङका जनतालाई धन्यवाद दिएका छन्। यस विषयमा खरसाङमा भारतीय जनता पार्टीको कार्यालयमा एउटा पत्रकार सम्मेलन आयोजना गरेर जनताले परिवर्तन गराउन सहयोग गरेको साथै बिजय उत्सव ऱ्यालीमा पनि खुलेर निस्केर सामेल भएकोमा धन्यवाद ज्ञापन गरिएको छ। यस अवसरमा भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला सचिव बिनय प्रसाद, दार्जिलिङ जिल्ला मिडिया प्रभारी चन्दन प्रसाद, खरसाङ गिध्द पहाडकी मण्डल सभापति एवं पञ्चायत समिति सदस्या दिक्षा तामाङले पत्रकारहरुलाई सम्बोधन गर्दै खरसाङका जनतालाई धन्यवाद ज्ञापन गरेका छन्। यस क्रममा भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला सचिव बिनय प्रसादले जनताले दिएको माया र साथले परिवर्तन ल्याएको बताउँदै हिजोको ऐतिहासिक कार्यक्रमको लागि सबैलाई धन्यवाद दिएका छन्। उनले भने, ‘हामी जनताको लागि विकास, पारदर्शिता र विश्वसनीयताको साथमा काम गर्नेछौँ। अव्यवस्थित पहाड र अव्यवस्थित बंगाललाई परिवर्तन गर्न जनताले मुख्य भूमिका निर्वाह गरेका छन् र अब जनताले परिवर्तन देख्नेछ।’
उनले एक प्रश्नको उत्तरमा अघि भने, अहिलेको समय जनताले नै के गर्नु र के नगर्नु भन्ने विषयमा सकरात्मक रुपमा सुझाव दिईरहेका छन्। हामीले कुन मान्छे सही छ र भ्रष्टाचारमुक्त छ छानेर मात्र पार्टीमा स्वागत गरिरहेका छौं। अब हामी विशेष गरेर जनताको लागि तीनवटा कुराहरु विकास, पारदर्शिता र विश्वसनीयताको साथमा काम गर्नेछौँ।’ जीटीए विषयमा सोधिएको प्रश्नमा उनले भने, जीटीए चाढै खारेज हुनेछ। सिलगढीमा मुख्यमन्त्रीले जीटीएमा भएको विभिन्न भ्रष्टाचारको सही जाँच भएर दोषीहरुमाथि कार्वाही गरिने भनेर भन्नु भएको छ र त्यही अनुसार हुन्छ।’
त्यसरी नै भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला मिडिया प्रभारी चन्दन प्रसादले यो जीत जनताको जीत रहेको छ भनी बताए। उनले खरसाङमा आयोजित विजय उत्सव ऱ्यालीमा जनता खुलेर बाहिर निस्केर साथ दिएकोमा धन्यवाद ज्ञापन गरेका छन्। चन्दन प्रसादले एक प्रश्नको उत्तरमा भने, भाजपामा सामेल हुन चाहनेहरु धेरै छन् तर बुथ स्तरीय कमिटी कमिटीले सिफारिस गरे अनुसार पार्टीमा स्वागत गरिरहेका छौं।तर भ्रष्टाचारमा लिप्तहरुलाई लिएका छैनौं। प्रसादले अघि भने, यो जीत पार्टी कार्यकर्ताहरुका लागि भावुक बनाउने जीत भएको छ। जनताको माया र पार्टी कार्यकर्ताहरुको संघर्षको जीत भएको छ। जनताको माया र प्रेम यथावत् रहनेमा विश्वस्त छौं।’
उनले यो जीत शहीद बनेका पार्टीको प्रतिनिधिहरुलाई समर्पित छ भनी बताएका छन्। उनले एक प्रश्नको उत्तरमा भने, भारतीय जनता पार्टीको संगठन एक ठाउँमा छ र निर्वाचित प्रतिनिधिहरुको काम अर्को ठाउँमा छ। निर्वाचितहरुले आफ्नो तरिकाले जनताको लागि काम गर्नेछन् तर पार्टीले कुनै हस्तक्षेप गर्ने छैन।’
त्यसरी नै खरसाङ गिध्द पहाडकी मण्डल सभापति एवं पञ्चायत समिति सदस्या दिक्षा तामाङले पनि पत्रकारहरुलाई सम्बोधन गर्दै भारतीय जनता पार्टीको जीतमा सम्पूर्ण जनतालाई धन्यवाद दिइन्। उनले खरसाङमा आयोजित भाजपाको बिजय ऱ्यालीमा उपस्थित सम्पूर्ण जनतालाई धन्यवाद ज्ञापन गरेकी छन्। उनले भनिन् ‘अब डरको माहोल सकियो। अन हामी काम गर्दैछौं। किनभने म एकजना निर्वाचित पञ्चायत समिति सदस्या हुँ।तर अहिलेसम्म एक पैसाको काम गर्न पाएको छुइन। तर अब हाम्रो जीत भएको छ र अब हामी जनताका लागि विकासको कार्य प्रशस्त रुपमा गर्न चाहान्छौं। मेरो चारवटा बुथहरु साथै मेरो मण्डलको हरेक बुथमा बिकासको लागि काम गर्न चाहान्छु। यो मेरो प्रण हो। यो मेरो अठोट र विश्वास हो।’
उनले भारतीय जनता पार्टीलाई जिताएकोमा साथै बिजय उत्सव ऱ्यालीमा उपस्थित खरसाङका सम्पूर्ण जनताप्रति आभार प्रकट गरेकी छन्।










