खरसाङ: घैयाबारीमा अवस्थित निजी अंग्रेजी स्कूल ब्लु डाईमाण्ड स्कूलको ३८औं स्थापना दिवस, नेपाली नयाँ वर्ष पहिलो वैशाख कार्यक्रम र डा. भीमराव अम्बेडकर जयन्ती समारोह सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता स्थानीय निरज लामाले गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेताजी हाई स्कूलका प्रधानाध्यापक दिनेश प्रधान, पत्रकार हनोक थापा, मिङमा शेर्पा आदि उपस्थित रहेका थिए। शिक्षक सन्तोष लामाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण स्कूलका निर्देशक बीबी थापाले राखेका थिए। अतिथिहरुका बाहुलीबाट डा. भीमराव अम्बेडकरको तस्वीरमा धुप दीप प्रज्वलन गरी थालिएको कार्यक्रममा स्कूलका प्राचार्य मार्थारानी राईको बाहुलीबाट केक काटेर स्थापना दिवस पालन गरिएको छ। कार्यक्रममा ब्लु डायमण्ड अंग्रेजी स्कूलको विषयमा निर्मित भिडियो पनि प्रदर्शन गरिएको थियो। कार्यक्रममा सिनियर विद्यार्थीहरुले स्वागत गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा स्कूलका निर्देशक र प्राचार्यको बाहुलीबाट नेताजी हाई स्कूलका प्रधानाध्यापक दिनेश प्रधान, पत्रकार हनोक थापा, मिङमा शेर्पा आदिलाई खदार्पणसहित स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। त्यसरी नै स्कूलका तीनजना चालकहरु धिरेन प्रधान, देवेन राई र रञ्जित तामाङलाई सम्मान जनाइएको छ। कार्यक्रममा स्कूलका भाईस प्रिन्सिपल प्रणाम थापाले ब्लु डायमण्ड स्कूलको विषयमा वक्तव्य राखेका थिए। उनले स्कूलका शिक्षक शिक्षिकाहरुको सम्पूर्ण विवरणसहित परिचय राखेका थिए। उल्लेखनीय छ घैयाबारीको ब्लु डायमण्ड अंग्रेजी स्कूलको स्थापना सन् १९८८ मा भएको थियो।

यस स्कूलले विगत ३८ वर्षदेखि लगातार रुपमा शिक्षा दिने काम गरिरहेका छन्। अहिलेसम्म यस स्कूलबाट आईसीएसईको १९ औं ब्याज उत्तीर्ण भईसकेका छन्। कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य प्रस्तुत गरेका थिए भने केरलमबाट आएकी शिक्षिका आईसा अजकर, विशिष्ट अतिथि दिनेश प्रधान, प्राचार्य मार्थारानी राई, निर्देशक बीबी थापा र कार्यक्रमको सभाध्यक्ष निरज लामाले वक्तव्य राखेका थिए।









