बस्ताड (स्वीडेन): स्पेनका दिग्गज खेलाड़ी रफायल नडाललाई ठूलो धक्का लाग्यो। उनले नोर्डिया ओपन टेनिस टुर्नामेण्टको फाइनलमा नूनो बोर्गेसविरुद्ध हारको सामना गर्नु पऱ्यो। सातौं वरीयता प्राप्त पोर्तुगलका खेलाड़ीले पूर्व नम्बर एक खेलाड़ी नडाललाई सीधा सेटमा ६-३, ६-२-ले पराजित गरे। नडाल २०२२-को फ्रेञ्च ओपनपछि पहिलोपल्ट कुनै एटीपी टूरमा कुनै प्रतियोगिताको फाइनलमा पुगेका थिए। फाइनलमा एकतर्फी जीत हासिल गरेपछि बोर्गेसले भने, यो असाधारण रह्यो। कहिले-काहीँ जीवनमा यस्तो घटनाहरू हुने गर्छ जसको तपाईंलाई कुनै आशा हुँदैन। यहाँ हामी सबै राफा (नडाल)-ले जितोस् भन्ने चाहन्थ्यौं अनि यो कुरा मलाई थाहा छ। मभित्रको एउटा हिस्साले पनि त्यही चाहन्थ्यो तर दोस्रो ठूलो हिस्साले चाहिँ केही हासिल गर्नको निम्ति प्रेरित गरिरहेको थियो। उल्लेखनीय छ, नडालले यहाँ २००५-मा केवल १९ सालको उमेरमा आफ्नो पहिलो खिताब जितेका थिए। गत केही सालदेखि चोटसँग जुझिरहेका नडाल अहिले पेरिस ओलम्पिकको तयारीमा जुटेका छन्।









