९ अगस्तः क्रिकेट एशिया कपको निम्ति भारतीय टीमको घोषणा गरियो। रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टीमको चयन गरिएको छ। टुर्नामेण्टको आयोजन २७ अगस्तदेखि यूएई-मा हुनेछ। भारतको पहिलो म्याच २८ अगस्तमा चीरप्रतिद्वन्द्वी पाकिस्तान विरुद्ध रहेको छ। टुर्नामेण्टमा जम्मा ६ वटा टीमले हिस्सा लिनेछन्। टीम इण्डिया ग्रुप ए-मा पाकिस्तान र अन्य एउटा क्वालीफायर टीमसँग रहेको छ। यसरी नै ग्रुप बी-मा श्रीलंका, अफगानिस्तान र बंग्लादेश रहेको छ। यसपाली पनि टुर्नामेण्टलाई टी२० प्रारूपमा खेलिनेछ। वेष्ट इण्डिज यात्रामा नजाने पूर्व कप्तान विराट कोहली टीममा फर्किएका छन्। यसरी नै केएल राहुल टीमका उपकप्तान हुनेछन्। राहुलले भारतको तर्फबाट आफ्नो अन्तिम म्याच फरवरीमा खेलेका थिए। त्यसपछि उनी आईपीएलको माध्यमले मैदानमा फर्किएका थिए। त्यसपछि फेरि चोट अनि पछिबाट कोरोना संक्रमणले गर्दा उनी मैदान बाहिर रहेका छन्। यसरी नै खराब फर्ममा रहने कोहलीलाई वेष्ट इण्डिज यात्राको अवधि विश्राम दिइएको थियो।
भारतीय टीमका मुख्य पेस बलर जसप्रीत बुमराह चोटले गर्दा एशिया कपबाट बाहिर भएका छन्। उनको साथमा हर्षल पटेल पनि चोटले थला परेका छन्। यी दुईका अनुपस्थितिमा चयन समितिले युवा खेलाड़ीहरूमाथि भरोसा देखाएको छ। गत केही समयदेखि टीममा रहने युवा पेस बलर अर्शदीप सिंह र अवेश खानलाई एशिया कपको टीममा राखिएको छ।
भारतले अहिलेसम्म एशिया कपको १३ वटा संस्करणमा हिस्सा लिइसकेको छ अनि सातपल्ट टीम च्याम्पियन रहेको छ। यसबाहेक भारत तीनपल्ट फाइनलमा पराजित भएको थियो। यसरी नै श्रीलंकाई टीम भारतपछि दोस्रो सर्वाधिक ५ पल्ट च्याम्पियन रहेको छ। पाकिस्तानले दुईपल्ट एशिया कप जितेको छ। एशिया कपको आयोजन पहिला श्रीलंकामा हुनु थियो तर देशको आर्थिक र राजनैतिक संकटले गर्दा टुर्नामेण्टको आयोजन अब यूएई-मा हुनेछ। एशिया कपको क्वालीफायर म्याचहरू २१ अगस्तदेखि शुरु हुनेछ। यसमा यूएई, ओमान, नेपाल, हंगकंग र वेष्ट इण्डिजसहित अन्य टीमहरूले हिस्सा लिनेछन्। यसमा एउटा टीमले मुख्य ड्र-को निम्ति क्वालीफाई गर्नेछ। एशिया कपको फाइनल ११ सेप्टेम्बरमा दुबई इण्टरनेशनल क्रिकेट स्टेडियममा खेलिनेछ।
भारतीय टीम यसप्रकार छः
रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, रिषभ पन्त (विकेटकीपर), दीपक हूडा, दिनेश कार्तिक (विकेटकीपर), हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, आर अश्विन, युजवेन्द्र चहल, रवि विश्नोई, भुवनेश्वर कुमार, अर्शदीप सिंह र अवेश खान।
ब्याकअप् खेलाड़ीः श्रेयस अय्यर, अक्षर पटेल र दीपक चाहर।









