बर्मिंघममा भारतको झोलीमा २२ वटा स्वर्णसहित जम्मा ६१ वटा पदक

IMG-20220809-WA0103.jpg

९ अगस्तः बर्मिंघम कमनवेल्थ गेम्समा भारत २२ वटा स्वर्णसहित जम्मा ६१ वटा पदकको साथ चौथो स्थानमा रह्यो। यसमा १६ वटा रजत र २३ वटा काँस्य पदक पनि सामेल छ। पदक तालिकामा अष्ट्रेलिया ६७ वटा स्वर्णसहित जम्मा १७८ वटा पदकको साथ शीर्ष स्थानमा रह्यो। यसरी नै आयोजक ईंग्ल्याण्ड ५७ वटा स्वर्णसहित जम्मा १७६ वटा पदकको साथ दोस्रो अनि कनाडा २६ वटा स्वर्णसहित जम्मा ९२ वटा पदकको साथ तेस्रो स्थानमा रह्यो। भारतले २०१७-मा गोल्ड कोस्टमा भएको गत संस्करणमा २६ वटा स्वर्णसहित ६६ वटा पदक जितेको थियो। त्यस दृष्टिकोणले चार सालपछि भारतको पदक संख्यामा ह्रास आएको छ। पदकको संख्या कम्ती भए पनि यसपालीको प्रदर्शनलाई धेरै असल मान्न सकिन्छ अनि यसको पछि एउटा ठोस कारण पनि रहेको छ।
भारतले यसपाली धेर पदक जित्न नसकेको मुख्य कारण नै शूटिंग हो। शूटिंग यसपाली कमनवेल्थ गेम्सको हिस्सा थिएन अनि यस खेलमा नै भारतले सबैभन्दा धेर पदक जित्ने गर्छ। भारतले शूटिंगमा मात्र अहिलेसम्म ६३ वटा स्वर्णसहित जम्मा १३५ वटा पदक जितेको छ। २०१८-मा पनि शूटिंगमा ७ वटा स्वर्णसहित जम्मा १६ वटा पदक आएको थियो। यसपाली शूटिंग खेल नहुँदा भारतलाई नोक्सान भयो अनि १५-१६ वटा पदक त्यसै घट्यो। शूटिंग खेल नहुँदा पनि भारतीय एथलीटहरूले गत संस्करणको तुलनामा केवल चारवटा स्वर्ण पदक कम्ती जिते। समग्रमा केवल ५ वटा पदक कम्ती आएको छ।
शूटिंगको अनुपस्थितिमा यसपाली कुश्ती भारतको निम्ति सबैभन्दा सफल खेल रह्यो। भारतीय पहलवानहरू १२ वटा इभेण्टमा ओर्लिए अनि प्रत्येकमा कुनै न कुनै पदक जित्न सफल भए। अर्थात्, बर्मिंघम जाने हरेक पहलवानले पदक जिते। भारतले यस खेलमा ६ वटा स्वर्ण, एउटा रजत र ५ वटा काँस्य पदक जित्यो। गतपल्ट भारतले ५ वटा स्वर्ण, ३ वटा रजत र ४ वटा काँस्य जितेको थियो।
यसबाहेक भारतले ब्याडमिण्टनमा ३ वटा स्वर्ण, एउटा रजत र २ वटा काँस्य पदक जित्यो। २०१८-मा यी खेलहरूमा भारतलाई २ वटा स्वर्ण, ३ वटा काँस्य र एउटा रजत पदक हासिल भएको थियो। यसरी नै टेबल टेनिसमा पनि पदकको संख्यामा बढ़ोत्तरी भयो। यसपाली भारतले ४ वटा स्वर्ण पदक जित्यो, जुन गोल्ड कोस्टको तुलनामा एउटा स्वर्ण पदक अधिक हो। बर्मिंघममा भारतको महिला र पुरुष दुवै टीम लन बल्समा पदक जित्न सफल भयो। लन बल्सको इतिहासमा भारतले पहिलोपल्ट एउटा स्वर्ण र एउटा रजत पदक जित्यो। जूडोमा २०१८-मा भारतको झोली रित्तै रहेको थियो तर यसपाली भारतले दुईवटा रजत र एउटा काँस्य पदक जित्यो। ट्र्याक एण्ड फील्डमा स्वर्ण जित्ने सबैभन्दा मजबूत भारतीय दावेदार नीरज चोपड़ा चोटले गर्दा बर्मिंघम जान सकेनन्। त्यसपछि पनि भारतले एथलेटिक्समा २०१० पछि आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गऱ्यो। भारतले यसपाली एथलेटिक्समा एउटा स्वर्ण, ४ वटा रजत र ३ वटा काँस्य पदक जित्यो। २०१४ र २०१८-मा भारतले एथलेटिक्समा ३-३-वटा पदक जितेको थियो। वेट लिफ्टिंगमा चाहिँ यसपाली भारतको प्रदर्शन असल रहेन। बर्मिंघममा भारतलाई पहिलो दिन तीनैवटा पदक वेट लिफ्टिंगमा प्राप्त भयो। भारतले यसपाली वेट लिफ्टिंगमा ३ वटा स्वर्णसहित जम्मा १० वटा पदक जित्यो। २०१८-मा भारतीय वेटलिफ्टरहरूले ५ वटा स्वर्णसहित जम्मा ९ वटा पदक जितेका थिए। बक्सिंगमा पनि गत संस्करणमा ३ वटा स्वर्णसहित ९ वटा पदक आएको थियो। यसपाली 3 वटा स्वर्णसहित ७ वटा पदक आयो। स्क्वाशमा २०१८-मा दुईवटा रजत पदक हासिल भएको थियो। यसपाली केवल दुईवटा काँस्य पदक प्राप्त भयो।

About Author

Advertisement