सोनादा: बाल साहित्यमा निरन्तर कलम चलाउँदै आएका कवि तथा साहित्यकार राजनारायण राईको प्रथम बाल कृति बाल कविता सङ्ग्रह ‘जून मामा’ को लोकार्पण भएको छ। पारिवारिक पहलमा सोनादाको राजदल बस्तीस्थित उनकै निजी निवासमा आयोजित समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको छ। सोनादा साहित्य संस्थानका सदस्यसमेत रहेका राजनारायण राई शारीरिक स्वास्थ्यसम्बन्धी चुनौती र विभिन्न सङ्घर्षका बाबजूद साहित्य सिर्जनामा निरन्तर सक्रिय रहँदै आएका छन्। जीवनका प्रतिकूलताहरूबीच पनि साहित्यप्रतिको आफ्नो निष्ठा र समर्पणलाई कायम राख्दै आएका राईको यो प्रथम बाल कृति उनको सिर्जनात्मक यात्राको एउटा महत्त्वपूर्ण उपलब्धिका रूपमा रहेको छ। यस अवसरमा उपस्थित साहित्यकार तथा समाजका व्यक्तित्वहरूले उनको सङ्घर्षशील जीवनयात्रा, साहित्यप्रतिको लगाव र निरन्तर सिर्जनशीलताको मुक्तकण्ठले प्रशंसा गरेका छन्। कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ कवि तथा साहित्यकार नरेश कटुवालले ‘जून मामा’ सङ्ग्रहमा समेटिएका कविताहरू बालोपयोगी रहेको उल्लेख गर्दै बाल साहित्यका दृष्टिले यस कृतिको महत्त्वमाथि प्रकाश पारे। साहित्य सिर्जनामा राजनारायण राईले देखाउँदै आएका निरन्तरता र सत्प्रयास प्रशंसनीय रहेको बताउँदै कटुवालले यही सिर्जनात्मक सक्रियता कायम रहे भविष्यमा उनीबाट अझ उत्कृष्ट साहित्यिक कृतिहरू प्राप्त हुने अपेक्षा व्यक्त गरेका छन्। पारिवारिक परिवेशमा सम्पन्न उक्त समारोहको अध्यक्षता भूतपूर्व गुरूमा जेजिमा यल्मोले गरेकी थिइन्। कार्यक्रम सञ्चालकका रूपमा सफल राई रहेका थिए भने जीवन राईले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा कवि तथा साहित्यकार टाँसी शेर्पा, साहित्यकारहरू मुकुन्दर बम्जन, रमेश दिलपाली र प्रमेश डुम्जन तथा समाज अध्यक्ष उजरलाल राईको उपस्थिति रहेको थियो। यसै गरी समाजका वरिष्ठ व्यक्तित्वहरू बी.एल. राई, जैकुमार राई, जीवन राई, आशिका राईलगायत अन्य महानुभावहरू तथा वयोवृद्ध व्यक्तित्व डी.एस. राईको उपस्थिति रहेको थियो। कृतिकारका दाजु विजय राई पनि कार्यक्रममा उपस्थित थिए। राजनारायण राईको साहित्यिक साधना, सङ्घर्ष र सिर्जनाप्रतिको अटुट प्रतिबद्धतासँग जोडिएको यस कृतिको लोकार्पणले उनको साहित्यिक यात्रामा एउटा नयाँ अध्याय थपेको छ। बाल बालिकाहरुलाई लक्षित गरी सिर्जना गरिएको ‘जून मामा’ ले बाल साहित्यको क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउने अपेक्षा गरिएको छ।





