कालचिनीः गत १२ जुलाई बुधबारको रात मेचपाड़ा पक्का लाईनका बासिन्दाहरूको निम्ति कालो रात थियो। जब पाना नदीले चियाकमानको सेक्सनका चियागाँछ र छाँयादार रुखहरू पल्टाउँदै पक्का लाईनमा पसे तब प्राकृतिक विध्वंशको साक्षात नमुना पक्का लाईनका बासिन्दाहरूले देखेको थियो। रातभरी जागो बसेर बिहान हुँदासम्म पाना नदीको मुस्लोले पक्का लाईनका बासिन्दाहरूको प्रत्येक घरभित्र बालुवा र माटो भित्र्याएर घरको सबै सरसमान नष्ट बनाई दिएको थियो। बिहीबार उद्धार टोलीहरूले गाउँलेहरूले एक एक गर्दै सबैलाई घरबाट निकाल्न सफल भएता पनि पीड़ित गाउँलेहरूले आफ्नो खुन पसिनाले बनाएको घरको हालत भने उजाड़ बनेको थियो। यस विध्वंशमा सबैभन्दा अधिक क्षतिग्रस्त बनेको छ कल्याण भुजेलको घर।
घरको संरचना सबै ठीक देखिए तापनि तिनको घरभित्रको सुत्ने कोठा लगायत सिटिङ कोठा, धुप कोठा र किचनमा रहेको जम्मै बेड, लता कपड़ा, सोकेस दराज, भाँड़ वर्तन, ग्यास चुल्हा, सबैथोक नै माटोले पुरिएको छ।
हाल घरभित्र जमेको प्रायः २-३ फूट बाक्लो हिलो र घरको आँगनमा जमेको ४ फूट बाक्लो हिलो माटो निकाल्न नसकिरहेको अवस्थामा घरमा पकाई खान समर्थ नभएको कल्याण भुजेल र तिनको आमाले आँखा रसाउँदै दुखेसो पोख्छन्। अहिले पानी कम भएर घर सफा गर्न आएका कल्याण भुजेलले आफ्नो घरको हालत देखेपछि टाउकोमा हात लगाएर विलौना गर्न थालेको छ।नतिनले अझै पानी लगातार परिरहे र खोला बढ़े जमीनमा रहेको घर पनि विलिन हुने आशङ्का व्यक्त गरेका छन्।










