खरसाङ: बाघडोगरा एफसी तीनधारेको नयाँ कमानमा नयाँ कमान भेटरेन क्लबको आयोजनामा भईरहेको नगराशि फुटबल टुर्नामेन्टको फाइनलमा पुग्न सफल भएको छ। आज भएको दोस्रो सेमी फाइनल खेल सिलिम हिल एफसी र बाघडोगरा एफसीमाझ सम्पन्न भएको थियो। उक्त खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको थियो भने दोस्रो हाफको खेलमा सिलिम हिलको तर्फबाट जर्सी नम्बर १४ अंकित तामाङले गोल गरेर बढत बनाएका थिए। तर बाघडोगरा एफसीको तर्फबाट जर्सी नम्बर ७ करण राईले गोल गरेर खेल बराबरीमा ल्याएका थिए। उनले नै फेरि लगातार अन्तरालमा २ गोल गरेका थिए करण राईको ह्याट्रिकको दममा बाघडोगरा एफसी ३-१ को अन्तरले सजिलै जितेर फाइनलमा प्रवेश गर्न सफल भएका छन्। यस खेलमा प्रमुख अतिथिको रुपमा खरसाङ महकुमा खेलकूद संघको सचिव निर्मल गुरुङ उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा सन्त मेरिज ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान दिनेश थापा, एक्टिभिष्ट सेमिका लामा , सिम्पल राई, दिप नारायण राई लगायत अन्यहरु उपस्थित रहेका थिए। यस खेलमा म्यान अफ् द म्याच बाघडोगरा एफसीको खेलाडी जर्सी नम्बर ७ करण राईलाई मुख्य अतिथि निर्मल गुरुङको बाहुलीबाट ट्रफी प्रदान गरिएको छ। अब फाइनलमा उपाधिको लागि बाघडोगरा एफसीको भीडन्त नर्थ बेंगाल एफसीसित हुने भएको छ। पहिलो सेमी फाइनलमा नर्थ बेंगाल एफसीले ताराबारी एफसीलाई २-० को अन्तरले जितेर पहिले नै फाइनलमा प्रवेश गरेका थिए। आज भएको दोस्रो सेमी फाइनल खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै नयाँ कमान भेटरेन क्लबको सल्लाहकार धिरेन प्रधानले विस्तृत रुपमा जानकारी गराएका छन्। त्यसरी नै प्रमुख अतिथिको रुपमा उपस्थित निर्मल गुरुङले पनि जानकारी गराएका छन्।





