कोलकाता: नदिया जिल्लाको कल्याणीमा नवनिर्मित एम्स अस्पतालको निम्ति कर्मी नियुक्तिहरूमा अनियमिततासित जुड़ेको मामिलाको जाँच गरिरहेको सीआईडीले भाजपा विधायक नीलाद्री शेखऱ दानालाई सोधपुछको निम्ति बोलाएको छ। उनीमाथि आफ्नो प्रभावको प्रयोग गरी आफन्तहरूलाई नौकरी दिलाएको आरोप छ। बांकुड़ाका विधायक नीलाद्री शेखर दानालाई आउँदो शुक्रबार भवानीभवनस्थित सीआईडी मुख्यालयमा सोधपुछको निम्ति हाजिर हुनलाई भनिएको छ।
यसअघि गत सोमबार बांकुड़ास्थित दानाको घर सीआईडीको टीम पुगेको थियो अनि विधायककी छोरी मैत्रेई शेखर दानासित घण्टौंसम्म सोधपुछ गरेको थियो। यसपछि विधायकलाई नोटिस पठाइएको छ। स्रोतहरू अनुसार बाबुको सिफारिशमै मैत्रेईको नौकरी लागेको छ। सीआईडीको दाबीअनुसार नियुक्ति गर्ने संस्थाले जाँच एजेन्सीलाई यो जानकारी दिएको छ, जसले गर्दा पिता-छोरीसित सोधपुछ भइरहेछ। सीआईडी अधिकारीहरूको दाबी छ, मैत्रेईको नाम मेरिट लिस्टमा सबैभन्दा तल भए पनि एम्समा नौकरी लागेको छ, यसैले उनीसित सोधपुछ जरूरी छ।










