बलोच आन्दोलन दबाउने र भारतविरुद्ध नयाँ षड्यन्त्रको तयारी
इस्लामाबाद: पाकिस्तानी गुप्तचर संस्था आईएसआई र प्रतिबन्धित आतङ्ककारी सङ्गठन लस्कर-ए-तैयबाका कमाण्डरहरूबीच बलुचिस्तानमा एक उच्चस्तरीय गुप्त बैठक सम्पन्न भएको छ। ‘जिहाद-उर-पाकिस्तान’ को ब्यानरमा आयोजित उक्त बैठकमा आईएसआईका उच्च अधिकारी, आतङ्ककारी कमाण्डर, धार्मिक नेता, विद्यार्थी सङ्गठनका प्रतिनिधि र स्थानीय व्यापारीहरूसहित करिब ३५० जनाको सहभागिता रहेको खुलासा भएको छ।
यस गुप्त बैठकको मुख्य उद्देश्य बलुचिस्तानमा जारी बलोच राष्ट्रवादी आन्दोलनलाई कमजोर पार्न आतङ्ककारीहरूको नयाँ गुट तयार पार्नु र भारतविरुद्ध नयाँ आतङ्ककारी षड्यन्त्र रच्नु रहेको छ। योजनाअनुसार बलुचिस्तानका युवाहरूलाई आकर्षित गर्न प्रतिमहिना ४० हजार पाकिस्तानी रुपैयाँ भत्ता दिने र क्वेटासहित विभिन्न स्थानमा रहेका ५ वटा तालिम केन्द्रमार्फत ३० दिनको आधारभूत आतङ्ककारी तालिम दिइनेछ। यसका साथै बलोच लिबरेसन आर्मी (बीएलए) र मजिद ब्रिगेडजस्ता विद्रोही समूहभित्र घुसपैठ गराउन लस्करका ४० जना खास अपरेटिभ्सलाई ४ महिनाको विशेष गुप्त अप्रेशन कोर्स गराएर परिचालन गर्ने रणनीति बनाइएको छ।










