नयाँ दिल्ली: बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान यसै महिना भारतको औपचारिक भ्रमणमा आउने सम्भावना बढेको छ। नयाँ दिल्ली र ढाकाबिच दुईदिने सम्भावित भ्रमणलाई लिएर उच्चस्तरीय कूटनीतिक छलफल भइरहेको छ। भारतले अगस्टको तेस्रो साता दुईदिने दिल्ली भ्रमणको प्रस्ताव गरेको भए पनि पूर्वप्रधानमन्त्री शेख हसिनाको सुपूर्दगीको विषय मुख्य अड्चनका रूपमा देखिएको छ।बङ्गलादेशले शेख हसिनालाई भारतमा ‘राजनीतिक गतिविधि’ गर्न दिइएको भन्दै आपत्ति जनाउँदै आएको छ। ढाकाले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन अनुकूल वातावरण बनाउनुपर्ने र हसिनाको सुपूर्दगीको विषयमा भारतबाट स्पष्ट आश्वासन चाहेको छ। यही खिचातानका बिच ढाकास्थित भारतीय उच्चायुक्त दिनेश त्रिवेदीले बङ्गलादेशी विदेशमन्त्री खलीलुर रहमानसँग भेटघाट गरी सम्भावित भ्रमणका विषयमा छलफल अघि बढाएका छन्।गत फेब्रुअरीमा बङ्गलादेशको प्रधानमन्त्री बनेपछि तारिक रहमानले चीनको भ्रमण गरे पनि भारत आएका छैनन्। यदि यो दिल्ली भ्रमण तय भई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भएमा दुई देशबिच उत्पन्न कूटनीतिक अन्योल अन्त्य भई सम्बन्धमा नयाँ आयाम थपिने विश्लेषकहरूको भनाइ छ।











