खरसाङ: यसपालीको दशैंको अवसरमा आयोजना गरिने फूलपाती शोभायात्रालाई लिएर सूचना अनि सांस्कृतिक विभाग गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको आयोजनामा खरसाङमा सभा सम्पन्न भएको छ। उक्त सभा खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा विनोद प्रकाश शर्माको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई सूचना अनि सांस्कृतिक विभाग खरसाङका प्रभारी गोबिन्द छेत्रीले सञ्चालन गर्दै सभाको औचित्य र उद्देश्य विषयमा विस्तृत जानकारी गराएका थिए। सभामा खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु उपस्थित रहेका थिए। सभामा उपस्थित प्रतिनिधिहरुले फूलपाती शोभायात्रा समारोहलाई लिएर विभिन्न प्रकारका सल्लाह सुझावहरु राखेका थिए। सभामा वक्तव्य राख्ने क्रममा विशेष गरेर आईएन शर्मा, सञ्जय छेत्री, सन्तोष परी, सुष्मा सिन्हा, तिलक शर्मा, आशा मुखिया लामा, रामकृष्ण शर्मा आदिले वक्तव्य राख्दै सांस्कृतिक शोभायात्राको लागि विभिन्न प्रकारका सल्लाह सुझावहरु राखेका थिए। सभामा सभाध्यक्ष बिनोद प्रकाश शर्माले वक्तव्य राखेका थिए। यसै सभामा नै फूलपाती सांस्कृतिक शोभायात्राको लागि कमिटी गठन गरिएको छ। उक्त कमिटीमा सभापति आईएन शर्मा, उपाध्यक्षद्वय आशा मुखिया लामा र रामकृष्ण शर्मा, सचिव गोविन्द छेत्री, सह सचिव सुरेन कटुवाल, कोषाध्यक्ष राजेस गजमेर चयन भएका छन्। यसको साथै खरसाङ क्षेत्रमा विभिन्न प्रतिनिधिहरुलाई लिएर फेरि सभा आयोजना गरिने भएको छ। फूलपाती सांस्कृतिक शोभायात्रालाई लिएर आयोजित सभा विषयमा पत्रकारहरुलाई सम्बोधन गर्दै सूचना अनि सांस्कृतिक विभाग खरसाङका प्रभारी एंव नवगठित कमिटीका सचिव गोविन्द छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन्।





