खरसाङ: खरसाङमा हुन गईरहेको फूलपाती शोभायात्रा एवं सम्मान कार्यक्रमलाई लिएर आयोजक समितिको सभा खरसाङको गोर्खा जन पुस्तकालय भवनमा सम्पन्न भएको छ। उक्त सभा फूलपाती शोभायात्रा समारोह समितिका अध्यक्ष आइएन शर्माको अध्यक्षतामा सम्पन्न भयो। सभालाई सूचना अनि सांस्कृतिक विभाग खरसाङका प्रभारी अनि फूलपाती शोभायात्रा एवं सम्मान कार्यक्रमका सचिव गोविन्द छेत्रीले सञ्चालन गर्दै सभामा उपस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई फूलपाती शोभायात्रा एवं सम्मान कार्यक्रमलाई कसरी सभ्य प्रकारले भव्यता प्रदान गर्न सकिने भन्ने विषयमा जानकारी गराएका थिए। उनले सभामा यस वर्ष प्रदान गरिने सम्मानहरुको साथै मालश्री गायन प्रतियोगिता, झाँकी प्रतियोगिता रहने अनि विभिन्न नृत्यहरु पनि रहेको जानकारी दिएका छन्। उपस्थित प्रतिनिधिहरुलाई स्वागत गर्दै सूचना अनि सांस्कृतिक विभागको तर्फमा उदघोषिका सबिना गिरी प्रधानले सबैलाई अन्तिम सभामा निर्णय गरिएको विषयहरुबारे अवगत गराइन्। सभामा विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुले फूलपाती शोभायात्रा र सम्मान कार्यक्रम विषयमा आफ्नो सल्लाह सुझावहरु राखेका थिए। सभामा फूलपाती शोभायात्रा एवं सम्मान कार्यक्रमका अध्यक्ष आइएन शर्माले फूलपातीको एक बेग्लै विशेषता रहेकोले हामीले यो परम्परा बचाउन जरुरी छ भन्दै सबै सबै गोर्खे समुदायहरुलाई अधिक संख्यामा जातीय पोशाक लगाएर आई भावी पिढीलाई पनि यसबारे जानकारी दिने पनि अनुरोध गरेका छन्। यस सभा विषयमा पत्रकारहरुलाई सम्बोधन गर्दै फूलपाती शोभायात्रा एंव सम्मान कार्यक्रमका सचिव गोविन्द छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन्।





