फिफा वर्ल्ड कप २०२६-को निम्ति ब्राजीलको अन्तिम टीममा नेमारलाई स्थान

IMG-20260519-WA0061

रियो डी जेनेरियो: ब्राजीलले फिफा वर्ल्ड कप २०२६-को निम्ति आफ्नो २६ सदस्यीय अन्तिम टीमको घोषणा गऱ्यो, जसमा सबैभन्दा ठूलो खबर स्टार फरवर्ड नेमारको आगमन रहेको छ। ३४ वर्षीय नेमार लगभग अढ़ाई सालपछि राष्ट्रिय टीममा फर्किएका छन्। उनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय म्याच २०२३-मा उरुग्वेविरुद्ध फिफा वर्ल्ड कप क्वालीफाईंग चरणमा खेलेका थिए। त्यस म्याचको अवधि उनको एण्टीरियर क्रूसिएट लिगामेण्ट (एसीएल)-मा गम्भीर चोट लागेको थियो। त्यसपछि नेमारले लामो समयसम्म चोटसँग जुझ्नु पऱ्यो तर आफ्नो वाल्यकालको क्लब सेण्टोसमा फर्किएपछि उनले असाधारण प्रदर्शन गरेका छन्। गत वर्ष जनवरीदेखि अहिलेसम्म नेमारले ३८ वटा म्याचमा १७ गोल गरेका छन्। यस प्रदर्शनको साथ उनी चयनकर्ताहरूको भरोसा जित्न सफल भए। नेमारको फिटनेसलाई लिएर चाहिँ सदा सन्देह रहन्छ कारण उनको करियर चोट-आघातले भरिएको रहेको छ। अहिले उनी आफ्नो चौथो वर्ल्ड कप खेल्न तयार छन्। ब्राजीलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले सोमवार साँझ रियो डी जेनेरियो आयोजित एक कार्यक्रममा प्रारम्भिक सूचीमा रहेका ५५ जना खेलाड़ीबाट २६ सदस्यीय अन्तिम टीमको घोषणा गरे। यस अवसरमा उनले नेमारको चयनमाथि पनि खुलेर कुरा गरे। एन्सेलोट्टीले भने, हामीले नेमारलाई केवल ब्याकअपको रूपमा चयन गरेका हैनौं। उनी आफ्नो खुबीहरूको साथ टीममा नयाँ ऊर्जा भर्न सक्छन्। म्याचमा चाहे एक मिनट खेलोस् या पूरा ९० मिनट, हामीले उनको खेलको गुणवत्तामाथि ध्यान दिनु पर्नेछ। यसको साथमा हामी ट्रफी जित्न केवल एकजना खेलाड़ीमाथि निर्भर रहेर हुँदैन। उनी कति खेल्नेछन् भन्ने ट्रेनिंगको आधारमा तय हुनेछ तर उनी यस टीमका महत्त्वपूर्ण खेलाड़ी हुन्।
नेमार ब्राजील फूटबल इतिहासको सर्वाधिक गोल गर्ने खेलाड़ी हुन्। उनले अहिलेसम्म १२८ वटा अन्तर्राष्ट्रिय म्याचमा ७९ गोल गरिसकेका छन्। बार्सिलोना र पेरिस सेण्ट जर्मेन जस्ता ठूलो क्लबहरूबाट खेलिसकेका नेमारले अब विनिसियस जूनियर, राफिन्हा र एण्ड्रिक जस्ता युवा खेलाड़ीहरूसँग ब्राजीललाई छैटौंपल्ट वर्ल्ड कप च्याम्पियन बनाउने प्रयास गर्नेछन्। नेमारसहित ब्राजीलको फरवर्ड लाइनमा विनिसियस जुनियर, राफिन्हा, एण्ड्रिक, इगोर थियागो, गेब्रिएल मार्टीनेली जस्ता खेलाड़ीहरू छन्। फरवर्ड लाइनमा ब्राजीलसँग धेरै विकल्प छ तर टीममा ५ जना मात्र मीडफिल्डर रहेका छन्। टीममा अनुभवी र युवा खेलाड़ीहरूको असल मिश्रण रहेको छ। बोर्नमाउथबाट खेल्ने रायानले अन्तिम टीममा स्थान बनाउँदा चेल्सीबाट खेल्ने जोआओ पेड्रोले चाहिँ मौका पाएनन्। चोटले गर्दा रियल मड्रिडका फरवर्ड रोड्रिगो, डिफेण्डर एडर मिलिटाओ र चेल्सीबाट खेल्ने इस्टाभियो अगावै वर्ल्ड कपमा खेल्ने रेसबाट बाहिर भएका छन्। फिफा वर्ल्ड कपको आयोजन अमेरिका, मेक्सिको र क्यानाडामा हुनेछ। टुर्नामेण्ट ११ जूनदेखि १९ जुलाईसम्म चल्नेछ। ब्राजीलसँग ग्रुप सी-मा हाइती, मोरक्को र स्कटल्याण्ड रहेको छ। ब्राजीलले वर्ल्ड कपमा १३ जूनमा मोरक्कोविरुद्ध म्याचको साथ अभियान शुरु गर्नेछ।
फिफा वर्ल्ड कपको निम्ति ब्राजीलको अन्तिम टीम यसप्रकार छः
गोलकीपर: एलिसन, एडरसन, वेभरटन
डिफेण्डर: एलेक्स साण्ड्रो, ब्रेमर, डानिलो लुइस, डगलस सान्तोस, गेब्रिएल मागल्हाएस, रोजर इबानेज, लियो पेरेरा, मार्क्विनहोस, वेस्ले
मीडफिल्डर: ब्रुनो गुइमारेज, कासेमिरो, डानिलो सान्तोस, फाबिन्हो, लुकास पाक्वेटा
फरवर्ड: एण्ड्रिक, गेब्रिएल मार्टिनेली, इगोर थियागो, लुइस हेनरिके, माथेउस कुन्हा, नेमार, राफिन्हा, रेयान, भिनिसियस जुनियर।

About Author

Advertisement