गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज लोक भवनमा राज्यपाल ओमप्रकाश माथुरसँग शिष्टाचार भेटवार्ता गरेका छन्। विशेष गरी आगामी २७ र २८ अप्रिलमा हुन लागेको प्रधानमन्त्री नरेन्द्र मोदीको सिक्किम भ्रमण र राज्यको ५०औँ स्थापना दिवस (स्वर्ण जयन्ती) को समापन समारोहको तयारीका विषयमा उनीहरूबीच गहन छलफल भएको छ। लोक भवनले दिएको जानकारी अनुसार, प्रधानमन्त्रीको यो भ्रमणलाई ऐतिहासिक बनाउन राज्य सरकारले गरिरहेका तयारीबारे मुख्यमन्त्रीले राज्यपाललाई विस्तृत जानकारी गराएका थिए।भेटका क्रममा मुख्यमन्त्री तामाङले लोक भवन र पाल्जोर स्टेडियममा आयोजना हुने विभिन्न कार्यक्रमहरूको पूर्वाधार तथा व्यवस्थापनको वर्तमान अवस्थाबारे समीक्षा गरे। उनले प्रधानमन्त्रीको आगमनलाई लिएर सिक्किमका जनतामा अभूतपूर्व उत्साह देखिएको र यो गौरवपूर्ण अवसरलाई भव्य रूपमा सफल बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए।

सो अवसरमा राज्यपाल माथुरले प्रधानमन्त्रीको यो भ्रमणले सिक्किमको विकासका उपलब्धिहरू र यहाँको मौलिक सांस्कृतिक पहिचानलाई विश्वस्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले राज्यको स्वर्ण जयन्ती समारोहको समापन र प्रधानमन्त्रीको उपस्थिति सिक्किमको इतिहासमा एक कोशेढुङ्गा सावित हुने उल्लेख गरे।










