खरसाङ: खरसाङमा प्रधानमन्त्री नरेन्द्र मोदीको सेवा सप्ताह अभियान अन्तर्गत ‘सेवा ज्योति’ कार्यक्रम बुधवार साँझ सम्पन्न भयो। प्रधानमन्त्री नरेन्द्र मोदीको २५ वर्षको राष्ट्रसेवा र समर्पणलाई स्मरण गर्दै भारतीय जनता पार्टीद्वारा आयोजित यस कार्यक्रमले खरसाङको पर्यटन तथा स्थानीय क्षेत्रलाई समेत उजागर गर्ने सन्देश दिएको बताइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको मुख्यमन्त्री र देशको प्रधानमन्त्रीको रुपमा गरेको कार्यको २५ वर्ष पुगेको अवसरमा आयोजना भईरहेको सेवा संकल्प अभियान अन्तर्गत खरसाङमा ‘सेवा ज्योति’ कार्यक्रम आयोजना गरिएको छ। यस अवसरमा खरसाङको टुरिस्ट लजदेखि राष्ट्रिय राजमार्ग हुँदै वर्ध्दमान रोड भएर मिटर स्ट्याण्डसम्म ऱ्यालीको आयोजना गरिएको छ। उक्त ऱ्यालीमा भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला सचिव बिनय प्रसाद, जिल्ला सचिव एवं प्रवक्ता निरज थापा, दार्जिलिङ जिल्ला मिडिया प्रभारी चन्दन प्रसाद, जिल्ला उपाध्यक्ष आरबी लामा, खरसाङ ११ मण्डलका अध्यक्ष सञ्जय थापा, १२ मण्डल अध्यक्षा दिक्षा तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए। उक्त सेवा ज्योति कार्यक्रम अन्तर्गत आयोजना गरिएको ऱ्यालीमा भारतीय जनता पार्टीको कार्यकर्ताहरुले ‘संकल्पको २५ साल, नयाँ भारतको २५ साल, सेवा, सुशासन र समर्पणको २५’ जस्ता नाराहरु लगाइएको थियो।

उक्त सेवा ज्योति कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला सचिव बिनय प्रसादले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा गुजरात राज्य र देशको सेवामा २५ वर्ष पुगेको अवसरमा सेवा संकल्प अभियान अन्तर्गत खरसाङमा सेवा ज्योति कार्यक्रम आयोजना गरिएको जसमा टुरिस्ट लजदेखि मोटर स्ट्याण्डसम्म आयोजना गरिएको बताए। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको सेवा, संकल्प, सुशासन र समर्पणको २५ वर्ष पुगेको अवसरमा देश सेवामा समर्पित हुन सबैलाई आह्वान् गरेका छन्। त्यसरी नै दार्जिलिङ जिल्ला सचिव एवं प्रवक्ता निरज थापाले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा गुजरातको मुख्यमन्त्री हुँदा गुजरात मोडेल देशभरि प्रसिद्ध बनेको र अहिले २०१४ देखि देशको प्रधानमन्त्रीको रुपमा कार्य पनि प्रचलित रहेको बताउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको सेवा, संकल्प, सुशासन र समर्पणको २५ वर्ष पुगेको अवसरमा देश सेवामा समर्पित हुन हामीलाई प्रेरणा दिन्छ भनी बताएका छन्। उनले देशमा जस्तै पहाडलाई पनि मूलधारामा बहेर निरन्तर विकास कार्यमा अघि बढ्न पहाडवासीलाई आग्रह गरेका छन्।





