बिर्तामोड :झापाको बिर्तामोड नगरपालिका–४ भद्रपुर रोडस्थित फर्निचर उद्योगबाट बुधबार आगलागी हुँदा आसपासका पाँच घरमा क्षति पुगेको छ ।
जिल्ला पुलिस कार्यालय झापाका पुलिस प्रवक्ता पुलिस नायब उपरीक्षक रञ्जन अवाका अनुसार भद्रपुर लाइनमा रहेको फर्निचर उद्योगबाट सुरु भएको आगो आसपासका घरमा फैलिएको हो । आगलागीबाट पाँच घरमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको उनले जानकारी दिए ।
‘मानवीय क्षति भएको छैन, आगलागीबाट चारदेखि पाँच घरमा क्षति पुगेको छ,’उनले भने, ‘क्षतिको विवरण सङ्कलन भइरहेको छ ।’
आगलागी नियन्त्रणका लागि चारवटा दमकलसहित पुलिस , सशस्त्र पुलिस बल र स्थानीयवासी परिचालन भएका थिए । उनीहरूको प्रयासमा आगो नियन्त्रणमा लिइएको पुलिसले जनाएको छ ।
पुलिसका अनुसार आगलागीको प्रारम्भिक कारण विद्युत् सर्ट हुन सक्ने अनुमान गरिएको छ । यद्यपि घटनाको वास्तविक कारण र आगलागीबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन तथा uअनुसन्धान भइरहेको जिल्ला कार्यालय झापाले जनाएको छ ।





