काठमाडौँ: प्रतिनिधिसभामा प्लेकार्डसहित उपस्थित भएर सरकारको विरोध गर्दै आएका श्रम संस्कृति पार्टीका सांसदहरूको व्यवहारलाई लिएर संसद्भित्र र बाहिर पक्ष-विपक्षमा बहस सुरु भएको छ। सभामुख डोलप्रसाद अर्यालले सो पार्टीका सांसदहरूलाई “मर्यादाविपरीतको व्यवहार सच्याउन” चेतावनी दिएपछि सदनमा राजनीतिक सरगर्मी बढेको हो।
सभामुखको चेतावनीका बाबजुद बिहीबारको प्रतिनिधिसभा बैठकमा पुनः प्लाकार्डसहित उपस्थित भएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्रीले संसद्मा आएर आफूहरूले उठाएका मुद्दाहरूको जबाफ दिनुपर्ने माग दोहोर्याए।
नेपाली कांग्रेसद्वारा सभामुख र सत्तापक्षको विगत स्मरण
बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै सत्तासीन दल राष्ट्रिय स्वतन्त्र पार्टीको विगतको आन्दोलन स्मरण गराए। उनले हिजो प्रतिपक्षमा हुँदा रास्वपाका सांसदहरूले नीलो स्कार्फ लगाएर वेल घेरेको, पलेँटी कसेर पुस्तक पढेको र नीलो प्लाकार्ड बोकेको सन्दर्भ उल्लेख गर्दै अहिले श्रम संस्कृति पार्टीको प्लाकार्ड कसरी अमर्यादित भयो भनी प्रश्न गरे।
सचेतक राईले सदनलाई मर्यादित र जबाफदेही बनाउन प्रधानमन्त्रीलाई संसद्भित्र उपस्थित गराउन सभामुखबाट रुलिङ हुनुपर्ने माग गरे। सरकार दुईतिहाइको दम्भमा संसद्प्रति अनुत्तरदायी बन्न नमिल्ने उनको भनाइ थियो। प्रतिपक्षको अवरोध र नाराबाजीका बिच कानुनमन्त्री सोविता गौतमले विधेयक पेस गर्ने कार्यसूची रहे पनि बैठक केही समय स्थगित गर्नुपरेको थियो। पछि विपक्षीको नाराबाजीकै बिच सभामुखले दोस्रो बैठक सञ्चालन गरेका थिए।
सभामुखको अग्रसरता र प्रधानमन्त्रीको मौनता
विपक्षी दलहरूले संसद्मा उठाइरहेका विषयमा ध्यानाकर्षण गराउन सभामुख डोलप्रसाद अर्यालले बिहीबार नै प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ लाई भेटेका थिए। उक्त संवादबारे सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठकमा जानकारी गराउँदै आफूले सहजीकरण गरिरहेको बताएका छन्।
यद्यपि, प्रधानमन्त्री बालेन जबाफ दिन कहिले संसद्मा जान्छन् भन्ने अझै स्पष्ट भइसकेको छैन। प्रधानमन्त्री नियुक्त भएपछि बेलाबेलामा प्रतिनिधिसभामा उपस्थित भए पनि उनले हालसम्म एक पटक पनि संसद् बैठकलाई सम्बोधन गरेका छैनन्। विशेष गरी राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको समयमा बैठकस्थलबाट बाहिरिएको र नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको उत्तर आफैँले नदिएको भन्दै प्रधानमन्त्री बालेनको आलोचना हुँदै आएको छ। प्रधानमन्त्री उपस्थित नभएपछि बिहीबारको दोस्रो बैठकमा विपक्षी सांसदहरूले वेल घेराउ समेत गरे।
सांसदको आचरण र सभामुखको अधिकार: विज्ञहरूको मत बाझियो
प्रतिनिधिसभा नियमावली २०७९ ले सभामा अभद्र व्यवहार गर्ने सांसदहरूलाई चेतावनी दिने, बैठकबाट निष्कासन गर्ने, तीन दिनसम्म बैठकमा भाग लिन रोक लगाउने र बढीमा १५ दिनसम्म निलम्बन गर्न सक्ने अधिकार सभामुखलाई दिएको छ। तर नियमावलीमा ‘अभद्र व्यवहार’ को स्पष्ट परिभाषा नहुँदा विज्ञहरूको मत बाझिएको छ।
संसद् सचिवालयका पूर्वसचिव सोमबहादुर थापा संसद्मा प्लाकार्ड देखाउने अभ्यास कतै पनि नरहेको र संसदीय अभ्यासमा यसलाई राम्रो नमानीने बताउँछन्। संसद् सभ्य तरिकाले प्रश्न गर्ने ठाउँ भएकाले अनुशासन कायम राख्न सभामुखले सचेत गराउनुपर्ने उनको तर्क छ।
अर्कातर्फ, झन्डै दुई दशक संसद् सेवामा बिताएका पूर्व सहसचिव तोयानाथ भट्टराई भने प्लाकार्ड प्रदर्शनलाई ध्यानाकर्षण र सञ्चारको एउटा माध्यम मान्न सकिने बताउँछन्। नियमावलीले यसलाई स्पष्ट रूपमा निषेध नगरेकाले सार्वजनिक महत्त्वका विषय उठाउँदा त्यसलाई अभद्र भन्न नमिल्ने र यस्ता प्राविधिक विषयमा सभामुखले कार्यव्यवस्था समितिको सल्लाहमा सदनबाहिरै छलफल गरेर निकास खोज्नुपर्ने सुझाव दिन्छन्।










