डॉ. शंकर घोष र मुख्यमन्त्रीद्वारा स्वास्थ्यलाभको कामना
सिलगढी: पश्चिम बंगाल सरकारका पूर्वमन्त्री तथा सिलीगुडीका पूर्वमेयर अशोक भट्टाचार्य आफ्नै निवासमा लडेर घाइते हुनुभएको छ। हिजो (शनिबार) घरमा अचानक लडेर चोट लागेपछि उहाँलाई उपचारका लागि माटीगाढास्थित एक नर्सिङ होममा भर्ना गरिएको छ।
उहाँको स्वास्थ्य अवस्था बुझ्न र शीघ्र स्वास्थ्यलाभको कामना गर्न सिलगढीका स्थानीय विधायक डॉ. शंकर घोष आज अस्पताल पुग्नुभएको थियो। सो क्रममा उहाँले चिकित्सकहरूसँग भट्टाचार्यको उपचार र स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी लिनुभएको छ।
यसैबीच, पश्चिम बंगालका माननीय मुख्यमन्त्री श्री सुवेन्दु अधिकारीले पनि अस्पतालमै फोन गरेर पूर्वमन्त्री भट्टाचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। मुख्यमन्त्री अधिकारीले टेलिफोन कुराकानीका क्रममा उहाँको उपचारमा कुनै कमी हुन नदिन आग्रह गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ। वामपन्थी राजनीतिका वरिष्ठ नेता भट्टाचार्यको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको र चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।











