कोलकाता। पश्चिम बङ्गालका पञ्चायत तथा ग्रामीण विकास मन्त्री दिलीप घोषले राज्यमा पुलिसमाथि भइरहेका शृङ्खलाबद्ध घटनाहरूप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। बिहीबार न्युटाउनस्थित इको पार्कमा बिहानी हिँडाइ (मर्निङ वाक) का क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले राज्यको कानुन व्यवस्था, राजनीतिक तथा सामाजिक विषयहरूमा आफ्नो धारणा राखेका हुन्।
कुराकानीका क्रममा उनले पुलिसमाथि हुने आक्रमण, अवैध हतियारको सहज उपलब्धता, एसआईआर अन्तर्गत मतदाता सूचीबाट नाम हटाउने विषय तथा बङ्गलादेशमा हिन्दू समुदायविरुद्ध भइरहेका हिंसाका घटनाहरूबारे प्रतिक्रिया दिए।
पुलिसलाई लक्षित गरी गोली चलाइएका घटनाप्रति चिन्ता जनाउँदै घोषले बोलपुरपछि आसनसोलको हीरापुरमा भएको गोलीकाण्डको प्रसङ्ग कोट्याए। उनले भने, “अपराधीहरू कसरी यति निडर बन्दै गएका छन् र उनीहरूसँग यति धेरै हतियार कहाँबाट आइरहेका छन्?” पुलिसमाथि नै गोली प्रहार हुने घटना राज्यको कानुन तथा शान्ति–सुरक्षा व्यवस्थाका लागि गम्भीर चिन्ताको विषय भएको उनले बताए।
त्यसैगरी, राज्यमा बारम्बार भइरहेका डकैती र ठगीका घटनामाथि पनि उनले प्रश्न उठाए। घोषले दुर्गानगर र दमदममा सुन व्यापारीको घरमा भएको डकैती, त्रिवेणीमा एक ज्योतिषीको घरमा भएको घटना तथा पार्क स्ट्रिटस्थित गरगहनाको शोरुममा जीएसटी अधिकारीको भेषमा पुगेका व्यक्तिहरूले गरेको घटनाको समेत उल्लेख गरे।





