गान्तोक: सिक्किमकी प्रतिभावान निर्देशक त्रिबेणी राईद्वारा निर्देशित पुरस्कृत चलचित्र ‘सेप अफ मःमः’ (Shape of Momo) को भव्य प्रिमियर शो सम्पन्न भएको छ। सिक्किमको चलचित्र क्षेत्रका लागि एक महत्वपूर्ण कोशेढुङ्गा मानिएको यस विशेष समारोहमा सिक्किमका मुख्यमन्त्रीले समेत उत्साहजनक उपस्थिति जनाएका छन्। मुख्यमन्त्रीले सामाजिक सञ्जालमार्फत तस्बिरहरू सार्वजनिक गर्दै यस उत्कृष्ट उपलब्धिलाई सिक्किमेली चलचित्र जगत्का लागि एउटा महत्वपूर्ण उपलब्धि र सम्पूर्ण राज्यकै लागि गौरवको क्षण भनी प्रशंसा गरेका छन्।मुख्यमन्त्रीले आफ्नो सन्देशमा महिला निर्देशक राईको असाधारण दृष्टिकोण, समर्पण र कलात्मक उत्कृष्टताको प्रसंशा गर्दै हार्दिक बधाई ज्ञापन गरेका छन्। उनले यस चलचित्रको सफलताले त्रिबेणीको प्रतिभा र लगनशीलतालाई मात्र उजागर नगरी यस क्षेत्रका आकांक्षी चलचित्रकर्मी तथा महिलाहरूका लागि ठूलो प्रेरणा मिलेको उल्लेख गरेका छन्।

‘सेप अफ मःमः’ मार्फत अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मञ्चहरूमा सिक्किमको नाम र पहिचानलाई अझ फराकिलो बनाउन योगदान पुगेको र यसले क्षेत्रीय सिनेमाको विकासमा सार्थक भूमिका खेलेको मुख्यमन्त्रीको भनाइ छ। मुख्यमन्त्रीले चलचित्रका सम्पूर्ण कलाकार तथा प्राविधिक टोलीलाई आगामी व्यावसायिक यात्रा र सफलताका लागि शुभकामना दिँदै यस कार्यले दर्शकलाई निरन्तर प्रेरित गरिरहने र सिक्किमका लागि अझ ठूला उपलब्धिहरू भित्र्याउने विश्वास व्यक्त गरेका छन्।










