बानरहाट: चियाबारीमा कार्यरत श्रमिकहरूको भविष्य निधिमा भइरहेको समस्यालाई लिएर बानरहाट स्थित केन्द्रीय राज्यमन्त्री जोन बारलाको कार्यालयमा जलपाईगढी रिजनल पीएफ कमिश्नर बी लाल जमाङ्ग अनि बिभिन्न चियाबारीका पीएफ क्लर्कहरूसँग बैठक गरेका थिए| यस बैठकमा बानरहाट खण्डका सबै चियाबारीका पीएफ क्लर्कहरू उपस्थित थिए| तिनीहरूले चियाबारीमा कार्यरत श्रमिकहरूको पीएफको समस्याबारे विस्तृत जानकारी दिँदै समस्या समाधान गरिदिने अपिल केन्द्रीय राज्यमन्त्री अनि पीएफ कमिश्नरलाई राखे| चियाबारीका पीएफ क्लर्कहरूले भने अवकास पश्चात श्रमिकहरूको पीएफ निकाल्नमा धेरै नै समस्या भइरहेको छ भने कतिपय श्रमिकहरूको आधार कार्डमा गड़बड़ी हुनको कारण विशेष रूपमा यो समस्या उत्पन्न भएको छ| आधार कार्ड संशोधन पनि नभएको कारणले यो समस्या झेल्न परेको छ| कतिपय चियाबारीहरूमा श्रमिकहरू पीएफ अनि पेन्सनको निम्ति वर्षौं समय लाग्ने गरेको छ|आज हामीले यहि विषयलाई लिएर केन्द्रीय राज्यमन्त्री जोन बारला अनि पीएफ कमिश्नरलाई जानकारी गराएका छौँ| यसबारे तिनहरूले चॉंडै समस्याको समाधान गरिने आश्वासन दिएका छन्| तिनहरूले अझ भने, आधार कार्ड मिसमैचको समस्या पनि चियाबारीमा समस्या बनेको छ भने अनलाइन पीएफ क्लेम गर्दा रिजेक्ट हुने गरेकोले श्रमिकहरूले समयमा पीएफ राशि प्राप्त गर्न सकेका छैनन| अलिपुरद्वार सांसद एवं केन्द्रीय राज्यमन्त्री जोन बारलाले भने चियाबारी क्षेत्रमा पीएफको समस्या वर्षौदेखि रहेको छ| यसैकारण आज यस बैठकमा पीएफ कमिश्नरलाई डाकिएको हो ताकि उनले यस समस्या स्वयं आएर सुनेर समाधान गर्ने पहल गरून्| केन्द्रीय राज्यमन्त्री जोन बारलाले भने, आधार कार्ड मिसमैचको समस्यालाई लिएर केन्द्रीय श्रम मन्त्रालयसँग कुराकानी गरेर चियाबारी क्षेत्रमा आधार कार्ड संशोधनको समय सीमा बढाउने माग राख्ने बताए| जलपाईगढी क्षेत्रीय पीएफ कमिश्नर बी लाल जमांगले भने, शीघ्र नै चियाबारी क्षेत्रमा पीएफ सम्बन्धित समस्याहरूको समाधान गर्ने पहल गरिने छ| यसको निम्ति केन्द्रीय राज्यमन्त्री जोन बारलाको धेरै नै सहयोग प्राप्त भएको छ|











