बीरपाडा: दुई दिने सामान्य वर्षामा नै बीरपाडा एक नम्बर ग्राम पञ्चायत अन्तर्गत बीरपाडा देवीसिमल बड़ाहौदा क्षेत्रको सडकमा घुँडासम्म पानी जम्यो| फलस्वरूप सडक नालामा परिणत भएको छ| उक्त क्षेत्रमा सामान्य वर्षा हुँदा पनि पानी जम्ने गरेकोले स्थानीय मानिसहरूलाई निक्कै समस्याको सामना गर्नुपर्दछ| उत्तर बङ्गालका विभिन्न जिल्लामा केही दिनदेखि लगातार छिटपुट वर्षा भइरहेको छ| जसले गर्दा बीरपाडा एक नम्बर ग्राम पञ्चायतको बड़ाहौदा देवीसिमल जाने मुख्य सडकको १.५ किलोमिटर सडक नालामा परिवर्तन भएको छ| सडकमा घुँडासम्म पानी जमेको छ| उक्त सडक भएर प्रायः गाउँका १००० जति स्थानीय मानिसहरूलाई यातायात गर्न धेरै असुविधा भइरहेको छ| उक्त सडक चॉंडै निर्माण गरियोस् भनी स्थानीय मानिसहरूले माग गरेका छन्| यसरी सडकमा पानी जम्ने समस्या आजको होइन, तर पनि प्रशासनले यसतर्फ कुनै ध्यान दिएको छैन| उक्त समस्या प्रत्येक वर्ष नै झेल्नु परेको स्थानीय बीरपाडा बड़ाहौदा देवीसिमल सर्व समाजका अध्यक्ष प्रकाश थापा अनि सचिव श्याम गुरुङले जनाएका छन्|
यस प्रसङ्गमा सर्व समाजका अध्यक्ष प्रकाश थापाले भने, सामान्य वर्षा हुँदा पनि हाम्रो यस सडकमा पानी जम्ने अनि हिलो सडक हुने गर्दछ| यहॉं कुनै सुव्यवस्थित नाला नभएकोले प्रायः सडकमा पानी जम्ने गर्दछ| यसबारे एकाधिक पटक विभिन्न प्रशासनिक विभागलाई अवगत गराए पनि अहिलेसम्म कुनै व्यवस्था गरिएको छैन| सडक बनिए तापनि आधा सडक बनिएकोले समस्या बनिरहेको छ| चॉंडै आधा सडक पनि बनियोस् भनी सर्व समाजका अध्यक्ष प्रकाश थापा अनि सचिव श्याम गुरुङले माग गरे | केही व्यक्तिहरूले समस्याको समाधान गरिदिने वाचा गर्छ तर अहिलेसम्म कसैले पनि गरेको छैन भन्ने आरोप लगाउँदै तिनले अति शीघ्र सडकको यस समस्याको समाधान गरिदिने माग गरे| यो सडक दुई पञ्चायत क्षेत्र बड़ाहौदा अनि देवीसिमल पर्दछ जसले गर्दा दुवै पञ्चायतले कार्य नगरेको स्थानीय मानिसहरूले आरोप लगाए| ज्ञात रहोस् उक्त क्षेत्रका एक पञ्चायत सदस्य कृषि सञ्चालक पदमा छन् भने एक पञ्चायत सदस्य उप प्रधान पदमा छन्| यता बीरपाडा एक नम्बर ग्राम पञ्चायत प्रधान तथा उप प्रधानसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन|










