पाक्याङ: हिमाचल प्रदेशबाट आएको ‘प्रेस इन्फर्मेसन ब्युरो’ (पीआईबी) को मिडिया प्रतिनिधिमण्डलले आज पाक्याङ जिल्लाको दक्षिण रेगु गाउँको भ्रमण गरी सिक्किमको कृषि प्रणाली तथा अलैँची खेतीको प्रत्यक्ष अवलोकन गरेको छ।
भ्रमणका क्रममा स्पाइसेज बोर्डका वरिष्ठ वैज्ञानिक डा. टिकेन्द्र डेकाले प्रतिनिधिमण्डललाई सिक्किममा अलैँचीको उत्पादन, खेती गर्ने तरिका र राज्यको कृषि अर्थतन्त्रमा यसको महत्त्वबारे विस्तृत जानकारी गराएका थिए।

मिडिया टोलीले स्थानीय अलैँची कृषक तथा पञ्चायत सदस्यहरूसँग अन्तर्क्रिया गर्दै किसानहरूका अनुभव, परम्परागत खेती प्रणाली र तल्लो स्तरमा देखिएका चुनौतीहरूबारे जानकारी लिएका थिए।
यस भ्रमणले सिक्किमको ग्रामीण अर्थतन्त्र र किसानहरूको जीविकोपार्जनमा अलैँची खेतीको भूमिकालाई नजिकबाट बुझ्ने अवसर प्रदान गरेको छ। साथै, सञ्चार माध्यममार्फत सिक्किमको मौलिक कृषि उत्पादन र ग्रामीण विकासका प्रयासहरूलाई व्यापक रूपमा उजागर गर्न यस्ता भ्रमणले महत्त्वपूर्ण योगदान पुर्याउने बताइएको छ।





