चुनाव जिती आफूलाई जिम्मेवारी दिन भाइ शहबाजसँग आग्रह गर्ने
इस्लामाबाद: पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले पाकिस्तान नियन्त्रित कास्मिर (पिओके) को राजनीतिलाई लिएर ठूलो बयान दिएका छन्। आफ्नो पार्टी पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) ले चुनाव जितेमा भाइ तथा पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफसँग आफूलाई पिओकेको प्रधानमन्त्री बनाउन आग्रह गर्ने उनले बताएका छन्।
मुजफ्फराबादमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नवाज सरिफले पिओकेको विकास निर्माणको कामलाई आफैँले प्रत्यक्ष निगरानी गर्न चाहेको उल्लेख गरे। “पिओके मेरो लागि पञ्जाबजत्तिकै महत्त्वपूर्ण छ। यो मेरो दोस्रो घर हो र मेरा पूर्वजहरू कास्मिरबाटै आएका थिए,” उनले भने।
पिओकेमा आगामी जुलाई २७ देखि अगस्ट १० बीच चुनाव हुँदैछ। उक्त चुनावमा पीएमएल-एनको सीधा प्रतिस्पर्धा पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) सँग हुनेछ।
पिओकेमा महँगी, विद्युत् महसुलमा वृद्धि र सत्ता पक्षलाई दिइएको विशेषाधिकारको विरोधमा ‘जम्मु-कास्मिर जोइन्ट अवामी एक्सन कमिटी’ (जेकेजेएएसी) को नेतृत्वमा तीव्र विरोध प्रदर्शन भइरहेका बेला यो चुनावी सरगर्मी बढेको हो।










