पासिङदाङ ब्लकमा पुग्यो राष्ट्रिय खेलकुद दिवसको रौनक

FB_IMG_1787852666344

जुम्बा र एक माइल दौड सम्पन्न

मङ्गन: राष्ट्रिय खेलकुद दिवस २०२६ को अवसरमा खेलकुद तथा युवा मामिला विभाग मङ्गनको आयोजनामा जोङ्गुस्थित पासिङदाङ विद्यालयमा १५ वर्षमुनिका छात्र तथा छात्राहरूका लागि जुम्बा सेसन र ‘मुख्यमन्त्री एक माइल दौड’ प्रतियोगिता सम्पन्न भएको छ। युवाहरूमा शारीरिक फिटनेस, अनुशासन र खेल भावना प्रवर्द्धन गर्ने उद्देश्यका साथ “खेलेगा भारत, जितेगा भारत” भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको हो।
​कार्यक्रममा मुख्य अतिथि पञ्चायत जिग्मे लेप्चा, खेलकुद तथा युवा मामिला विभागकी अतिरिक्त निर्देशक जानिम लेप्चा, उपनिर्देशक थिनले नामग्याल लेप्चा, पासिङदाङ विद्यालयका इन्चार्ज ओङ्याल लेप्चा लगायत शिक्षक, विभागीय कर्मचारी र स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।
​योग प्रशिक्षक तथा शारीरिक शिक्षा शिक्षिका रिनामित लेप्चाको नेतृत्वमा सञ्चालित जुम्बा सेसनमा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए। त्यसपछि आयोजित १५ वर्षमुनिका छात्राहरूको एक माइल दौडमा पेमा डेकी लेप्चा प्रथम, सोसोङ लेप्चा द्वितीय र डिम पुन्डी लेप्चा तृतीय भए। यस्तै छात्रतर्फ एडोन लेप्चा प्रथम, अलीजङ लेप्चा द्वितीय र नामाअल लेप्चा तृतीय स्थान हासिल गर्न सफल भए।
​कार्यक्रमका क्रममा खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले अतिरिक्त निर्देशक जानिम लेप्चाले पासिङदाङ विद्यालयलाई फुटबल हस्तान्तरण गर्नुका साथै सहभागी सबैलाई प्रमाण-पत्र वितरण गरिन्। जिल्लाभरि फिटनेस र खेलकुद सम्बन्धी गतिविधिहरू आयोजना गर्दै राष्ट्रिय खेलकुद दिवस मनाउने क्रम जारी रहने जनाइएको छ।

About Author

Advertisement