पाङ-ल्हाब्सोल उत्सवका अवसरमा युकसाममा फाइभ-ए-साइड फुटसल प्रतियोगिता सुरु

FB_IMG_1787418199279

ग्याल्सिङ: ऐतिहासिक पाङ-ल्हाब्सोल (नेसोल) उत्सवको अवसर पारेर युक्सामको नोर्बुगाङमा फाइभ-ए-साइड फुटसल प्रतियोगिता शनिबारदेखि भव्य रूपमा सुरु भएको छ।
​उत्सवको दोस्रो दिन आयोजित उद्घाटन समारोहमा समाजसेवी तथा सरकारी ठेकेदार जम्याङ कुङ्गा काजी मुख्य अतिथि र ठेकेदार तासी छोपेल भुटिया विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा सिक्किम कला, संस्कृति तथा सम्पदा विकास बोर्डका सदस्य थुप्तेन रिन्जिङ भुटिया, जिल्ला पञ्चायत सदस्य यदुनाथ क्षेत्री, तासिडिङ पञ्चायत सदस्य ग्यात्सो भुटिया लगायत स्थानीय अधिकारीहरूको सहभागिता रहेको थियो।
​मन्त्री एवम् क्षेत्रीय विधायक छिरिङ टि. भुटियाको संरक्षकत्वमा पाङ-ल्हाब्सोल उत्सव आयोजक समिति युक्सामद्वारा आयोजित यस प्रतियोगितालाई वन तथा वातावरण विभाग (काङचेनजोङ्गा राष्ट्रिय निकुञ्ज डिभिजन) र पर्यटन तथा नागरिक उड्डयन विभागले सहयोग गरेका छन्। आठ दिनसम्म चल्ने यस उत्सवको हिस्साका रूपमा आयोजित प्रतियोगितामा जम्मा ३० वटा फुटसल टोलीहरूले सहभागिता जनाएका छन्।

​उद्घाटन खेलमा ‘अपराइजिङ युनाइटेड’ र ‘भुटिया ब्वाइज’ बीच प्रतिस्पर्धा भएको थियो, जसमा भुटिया ब्वाइजले पेनाल्टी सुटआउटमा जित हासिल गर्यो। कार्यक्रममा बोल्दै मुख्य अतिथि जम्याङ कुङ्गा काजीले युक्सामको सांस्कृतिक र पर्यटन सम्भावनाबारे चर्चा गर्दै यस्ता उत्सवले सिक्किमका विभिन्न समुदायबीच एकता र भ्रातृत्व कायम राख्न मद्दत पुर्‍याउने बताए।

About Author

Advertisement