पाङ ल्हाबसोल पर्वको अवसरमा सिक्किमका राज्यपालद्वारा सुभकामना

a-1623727943.jpg

गान्तोक: पाङ ल्हाबसोल पर्वको अवसरमा सिक्किमका राज्यपाल गंगा प्रसादले सिक्किमवासीहरूलाई न्यानो अभिवादन व्यक्त गरेका छन्।
राज्यपालले आज जारी आफ्नो सन्देशमा पाङ ल्हाबसोल वार्षिक रूपमा मनाइने सिक्किमको एउटा अभिनव चाड रहेको बताएका छन्। उनले आजकै दिन १३औं शताब्दीमा ऐतिहासिक काबि लुङचोकमा लेप्चा र भोटिया जनजातिबीच एकता र भाइचाराको सम्झौता भएको जनाएका छन्। उनले कञ्चनजङ्घालाई साक्षी राखेर लेप्चा प्रमुख थेकोङथेक र भोटिया प्रमुख खेभुम्साबीच भएको उक्त सम्झौताले भाइचारा, शान्ति, एकता र समृद्धिको भूमिको रूपमा सिक्किमको आधार स्थापित गरेको बताएका छन्।
राज्यपालले आफ्नो सन्देशमा पाङ ल्हाबसोल सिक्किमका सबै समुदाय भोटिया, लेप्चा, नेपाली र व्यापारीहरूले श्रद्धाका साथ मनाउने गर्छन् भनी बताएका छन्। यस अवसरमा उनले राज्यका सबै समुदायबीच भाइचारा र सद्भावलाई सुदृढ बनाउने सामूहिक प्रयास गरौं भनी आह्वान गरेका छन्। राज्यपालले सिक्किमको छुट्टै पहिचान अनन्तसम्म बचाइराख्ने शपत पुनः दोहोऱ्याउन पनि आह्वान गरेका छन्।

About Author

Advertisement