मन्त्री समदुप लेप्चाद्वारा सराहना
मङ्गन: राज्यका माननीय मुख्यमन्त्री प्रेमसिंह तामाङको दह्रो नेतृत्व र मार्गदर्शनमा हिँड्दै पाक्सेप, सिङ्घिक अनि मानुलका स्थानीय ट्याक्सी चालक संघका सदस्यहरूले एउटा साह्रै सह्रानीय कामको थालनी गरेका छन्। सिक्किमको समृद्ध संस्कृति, परम्परा र एकतालाई जोगाई राख्नका निम्ति अबदेखि यी चालकहरूले प्रत्येक बिहीबार आफ्नो परम्परागत पोसाक लगाउने निधो गरेका छन्। भावी पुस्ताका लागि सिक्किमको सांस्कृतिक पहिचान र मूल्य-मान्यतालाई जोगाउने उनीहरूको यो एउटा ठुलो प्रतिबद्धता हो।
यसै ऐतिहासिक पहलको औपचारिक घोषणा गर्नका निम्ति आज मङ्गनमा एउटा भव्य कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा सामाजिक कल्याण विभागका माननीय मन्त्री एवं ३१-लाचेन मङ्गन निर्वाचन क्षेत्रका विधायक समदुप लेप्चा मुख्य अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँका साथमा चालक कल्याण बोर्डका अध्यक्ष सोनाम ओङदुप भुटिया, आरटीओ, मङ्गन- तेम्पा रिन्जिङ भुटिया, एमईओ कार्जोङ भुटिया, राज्य स्तरीय चालक संयोजक श्री सोनाम तामाङ, ओएसडी लाचेन मङ्गन छिरिङ वाङ्गेल भुटिया, जिल्ला महासचिव लाक्चिङ लेप्चा, डीएलसी युवा संयोजक श्री रिन्जिङ नामग्याल भुटियालगायत अन्य विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।
यसका साथै, मङ्गन थानाका एसएचओ प्रशान्त राई, एमएनपी अध्यक्ष सुश्री छिरिङ डोमा भुटिया, काउन्सिलर हाङ्गु लाचेनपा र समाजसेवी तासी पिन्त्सो काजी पनि कार्यक्रममा उपस्थित भई चालकहरूको यस सांस्कृतिक अभियानको उत्साह बढाउनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै माननीय मन्त्री समदुप लेप्चाले सिक्किमको समृद्ध सांस्कृतिक धरोहरलाई जोगाउन र यसको प्रचार गर्न ट्याक्सी चालक संघले गरेको यस प्रयासको भूरि-भूरि प्रशंसा गर्नुभयो। उहाँले सबैलाई आफ्नो परम्परामाथि गर्व गर्न, आपसी एकता कायम राख्न र आफ्ना सांस्कृतिक मूल्य-मान्यताहरूलाई भावी पुस्तामा हस्तान्तरण गर्न प्रोत्साहन दिनुभयो। संस्कृति, पहिचान र एकता नै एउटा बलियो र राम्रो समाज निर्माणका प्रमुख आधार हुन् भन्ने कुरामा उहाँले विशेष जोड दिनुभयो।










