पाक्योंङ: राज्यव्यापी रूपमा चलिरहेको ‘सिक्किम राइज’ सचेतना अनि प्रचार अभियानको एउटा महत्त्वपूर्ण कडीको रूपमा आज पाक्योंङ जिल्लामा विभिन्न सरोकारवालाहरू र संस्थाहरूसँग भेटघाट कार्यक्रम सम्पन्न भएको छ। यस अभियानको मुख्य उद्देश्य जिल्लाका युवावर्गमा उद्यमशीलता, नयाँ सोच र नवप्रवर्तनलाई बढावा दिनु रहेको छ।
यसै सिलसिलामा सिक्किम सरकारको वाणिज्य अनि उद्योग विभागका ओएसडी तथा सीड सेलका महासचिव श्री दिपेन सुब्बाले पाक्योंङका जिल्लापाल श्रीमती परी बिश्नोई, आईएएस, सँग भेट गरी ‘सिक्किम राइज’ को उद्देश्य, यसको दूरदर्शिता र यसले ल्याउने सुवर्ण अवसरहरूबारे विस्तृत रूपमा अवगत गराउनुभयो। भेटघाटमा जिल्लाका विद्यार्थी, युवा, स्टार्टअप र नयाँ उद्यमीहरूलाई यस अभियानमा बढीभन्दा बढी सामेल गराउने विषयमा चर्चा भयो। यस अवसरमा पाक्योंङ जिल्लाका एपीएस विशाल पोखरेल पनि उपस्थित हुनुहुन्थ्यो।
यस प्रचार टोलीले एटीटीसी बार्दाङ इन्क्युबेशन सेन्टरको पनि भ्रमण गर्यो। त्यहाँ प्रिन्सिपल डा. सोनाम पाल्डेन बरफुङ्पा, भाइस प्रिन्सिपल, विभाग प्रमुखहरू र इन्क्युबेशन सेन्टरका प्रभारीहरूसँग एउटा अन्तर्क्रियात्मक बैठक बसियो। शैक्षिक संस्थाहरूभित्रै उद्यमशीलताको वातावरण कसरी बलियो बनाउने र विद्यार्थीहरूलाई कसरी ‘सिक्किम राइज’ तिर आकर्षित गर्ने भन्ने विषयमा त्यहाँ विचार-विमर्श भयो।
यसपछि, श्री सुब्बाले पाक्योंङ जिल्ला उद्योग केन्द्रका महाप्रबन्धक श्री जिग्मी वाङ्दी भुटिया र अन्य अधिकारीहरूसँग भेटघाट गर्नुभयो। बैठकमा सहभागीहरूलाई ‘सिक्किम राइज’ अन्तर्गत उपलब्ध विभिन्न अवसरहरूबारे बुझाउँदै, जिल्लाभरिका नयाँ व्यवसायीहरू, स्वयं सहायता समूह र नवप्रवर्तकहरूलाई यस अभियानमा दर्ता गराउन प्रोत्साहन गर्ने आग्रह गरियो।
राज्यभरि उद्यमशीलताको एउटा राम्रो वातावरण तयार गर्न र ‘सिक्किम राइज’ लाई सफल बनाउन सरकारी विभाग, शैक्षिक संस्था र उद्योग सरोकारवालाहरूबीच आपसी सहयोग कति जरुरी छ भन्ने कुरा यस बैठकहरूले स्पष्ट पारेको छ। यस अभियानमा श्री दिपेन सुब्बाका साथमा सीड सेलका संयुक्त सचिव श्री विकास बस्नेत पनि सहभागी हुनुहुन्थ्यो।

तपाईंहरूलाई जानकारी गराइराखौँ, ‘सिक्किम राइज’ सिक्किम सरकारको वाणिज्य अनि उद्योग विभाग अन्तर्गत ‘सिक्किम इन्स्पायर्स’ कार्यक्रमको एउटा प्रमुख पहल हो, जसले सिक्किमका नयाँ पुस्ताका उद्यमीहरूलाई पहिचान गरी उनीहरूलाई आत्मनिर्भर बनाउने काम गरिरहेको छ।









