इस्लामाबाद: पाकिस्तानका वरिष्ठ नेता तथा जमियत उलेमा-ए-इस्लाम (फजल) का प्रमुख मौलाना फजलुर रहमानले सेना प्रमुख असिम मुनिर र शहबाज शरीफ सरकारमाथि देशमा शान्ति स्थापना गर्न असफल भएको आरोप लगाएका छन्। पेशावरमा आयोजित कार्यकर्ता सम्मेलनलाई सम्बोधन गर्दै उनले पाकिस्तानी सेनाको इतिहास, देशको आन्तरिक सुरक्षा र बलोचस्तानको वर्तमान अवस्थामाथि गम्भीर प्रश्न उठाएका छन्।
मौलाना फजलुर रहमानले भने कि पाकिस्तानी सेनाको झूट बोल्ने पुरानो इतिहास रहेको छ। १९७१ को युद्धमा भारतसमक्ष आत्मसमर्पण गर्नुभन्दा एक दिन अघि जनरल याह्या खानले अन्तिम साससम्म लड्ने कुरा गरेका थिए, तर त्यसको भोलिपल्टै हतियार बिसाए। उनले स्पष्ट पारे कि यदि एक राजनीतिक कार्यकर्ताको रूपमा उनलाई सैन्य मामिलामा हस्तक्षेप गर्ने अधिकार छैन भने, सेना पनि राजनीतिबाट पूर्ण रूपमा टाढा रहनुपर्छ।
बलोचस्तान र खैबर पख्तूनख्वामा बढ्दो तनाव र रक्तपातप्रति चिन्ता व्यक्त गर्दै उनले भने कि जब देशका जनता कष्टमा छन्, तब सत्ता र सेना उत्सव मनाउनमा व्यस्त छन्। यसका साथै उनले प्रधानमन्त्री शहबाज शरीफको विदेश भ्रमणमाथि व्यंग्य गर्दै देशको भुइँ रगतले लतपतिएको बेला उनी संसारभर रेड कार्पेटको आनन्द लिइरहेको टिप्पणी गरे।









