पाकिम जिल्लामा मतदाता नामावली पुनरीक्षण अभियान सम्पन्न

IMG-20260628-WA0115(1)

९२ प्रतिशतभन्दा बढी डिजिटलाइजेसन

पाकिम: सिक्किम राज्यभर सञ्चालित मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) २०२६ अन्तर्गत एक महिने लामो घरदैलो गणना चरण आइतबार सफलतापूर्वक सम्पन्न भएको छ। यस अभियान अन्तर्गत पाकिम जिल्लाले उत्कृष्ट कार्यसम्पादन गर्दै ९२.१७ प्रतिशत प्रमाणीकरण र ९२.२० प्रतिशत डिजिटाइजेसनको लक्ष्य हासिल गरेको छ।
​जिल्ला निर्वाचन कार्यालयको अन्तिम प्रतिवेदनअनुसार, प्रारम्भिक मतदाता सूचीमा रहेका कुल ८३ हजार १११ योग्य मतदातामध्ये ७६ हजार ६२९ वटा गणना फारामहरूको प्रमाणीकरण र ९२.९० प्रतिशत डिजिटाइजेसन कार्य पूरा गरिएको छ। जिल्लाभर परिचालित १०९ जना बुथ लेभल अफिसर (बीएलओ) मार्फत ८२ हजार ७०८ वटा गणना फाराम (९९.५२ प्रतिशत) मतदाताको घरदैलोमै पुगेर वितरण गरिएको थियो।
​बीएलओको प्रभावकारी पहुँच
महिनाभर सञ्चालन गरिएको यस विशेष अभियानका क्रममा जिल्लाभर केवल दुई जना मतदाताले मात्र विविध कारणवश बीएलओबाट गणना फाराम प्राप्त गर्न सकेनन्। यसले प्रशासनको पहुँच र अभियानको व्यापक प्रभावकारितालाई पुष्टि गरेको निर्वाचन कार्यालयले जनाएको छ। सहरी क्षेत्र, ग्रामीण बस्ती तथा दुर्गम पहाडी गाउँहरूमा पुगेर बीएलओहरूले फाराम वितरण, सङ्कलन र प्रमाणीकरण गरेका थिए।
​जिल्ला निर्वाचन कार्यालयका अनुसार यस अभियानलाई सफल बनाउन निर्वाचन दर्ता अधिकारी, सहायक निर्वाचन दर्ता अधिकारी, सुपरभाइजर, बीएलओ, बुथ लेभल एजेन्ट र सर्वसाधारण नागरिकको सक्रिय सहभागिता रहेको थियो। अब गणनाको पहिलो चरण सकिएसँगै सङ्कलित फारामहरूको परीक्षण र प्रशोधन कार्य भारतीय निर्वाचन आयोगको निर्देशिका र कार्यतालिकाअनुसार अघि बढाइनेछ, जसका आधारमा संशोधित नयाँ मतदाता नामावली प्रकाशन हुनेछ।

About Author

Advertisement