फुलबारी: उत्तर बंगालका पहाडी तथा मैदानी क्षेत्रहरूमा विगत केही दिनदेखि भइरहेको लगातारको वर्षाका कारण नदीमा जलस्तर निकै बढेपछि आइतबार फुलबारीस्थित महानन्दा ब्यारेजका थुप्रै लकगेट (ढोका) हरू खोलिएका छन्।
शनिबार राति परेको मुसलधारे वर्षाका कारण नदीमा पानीको बहाव उच्च भएपछि खोलिएका लकगेटहरूबाट ठुलो मात्रामा पानी बगिरहेको देख्न सकिन्छ।
मौसम विज्ञान विभागले यसअघि नै उत्तर बंगालका विभिन्न जिल्लाहरूमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान जारी गरेको थियो। सोही पूर्वानुमान अनुसार शनिबार रातभरि पहाड र मैदान दुवै क्षेत्रमा तीव्र वर्षा भएको थियो, जसका कारण महानन्दा ब्यारेजमा पानीको सतह अचानक ह्वात्तै बढेको हो।
कुनै पनि अप्रिय घटना हुन नदिन र सम्भावित बाढीको खतरालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले अहिले स्थितिमाथि कडा निगरानी राखिरहेको छ। जलस्तरको उतारचढावलाई लिएर प्रशासन पूर्ण रूपमा सतर्क अवस्थामा रहेको अधिकारीहरूले जनाएका छन्।











