पाकिम जिल्लामा ‘नशामुक्त भारत’ प्रतिज्ञा कार्यक्रम सम्पन्न

FB_IMG_1782135744575

लागुऔषध विरुद्ध एकजुट हुन जिल्लापालको आह्वान

पाकिम: लागुऔषध दुरुपयोग र अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिक्किमको पाकिम जिल्ला प्रशासनिक केन्द्र परिसरमा ‘नशामुक्त भारत’ प्रतिज्ञा कार्यक्रम आयोजना गरिएको छ। पाकिमका जिल्लापाल (डीसी) परी बिश्नोईको उपस्थितिमा उपस्थित सबै अधिकारी तथा कर्मचारीहरूलाई लागुऔषध मुक्त समाज निर्माणका लागि शपथ गराइएको हो। सूचना तथा जनसम्पर्क विभाग (आईपीआर) का अनुसार उक्त विशेष कार्यक्रममा अतिरिक्त जिल्लापाल सविन्द्र राई, उपविभागीय मजिस्ट्रेट (मुख्यालय) थेन्डुप लेप्चा, एसडीएम पाकिम एनके भण्डारी, सामाजिक कल्याण विभागकी कल्याण अधिकारी सुनिता दाहालका साथै विभिन्न सरकारी निकायका प्रमुखहरू, प्रहरी कर्मचारी र अन्य अधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
​कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल परी बिश्नोईले समाज र परिवारमा लागुऔषध दुर्व्यसनको बढ्दो प्रभाव र यसले निम्त्याएको गम्भीर संकटप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। उहाँले दुर्व्यसनको हानिकारक परिणामहरूलाई बुझ्न र बुझाउन आवश्यक रहेको उल्लेख गर्दै विशेष गरी युवा वर्गमा यसबारे व्यापक सचेतना फैलाउन सबैलाई आग्रह गर्नुभयो। जिल्लापालले एक जिम्मेवार नागरिकको रूपमा समाजलाई लागुऔषधको चंगुलबाट बचाउन सामूहिक प्रयासको खाँचो रहेको बताउँदै सचेतना र सही निर्णय नै लागुऔषध मुक्त समाज निर्माणको मुख्य हतियार भएकोमा जोड दिनुभयो।
​प्रतिज्ञा कार्यक्रमका क्रममा सहभागीहरूले आफू लागुऔषध दुर्व्यसनबाट टाढा रहने र आफ्नो जिल्ला, राज्य तथा राष्ट्रलाई नशामुक्त बनाउन सक्रिय योगदान दिने कसम खाएका थिए। यस शपथले युवा र समुदायमा सकारात्मक व्यवहारिक परिवर्तन ल्याउन र लागुऔषधको गम्भीर असरबारे समाजका हरेक तहसम्म सचेतना पुर्‍याउन सामूहिक जिम्मेवारीको भावनालाई बलियो बनाएको छ। पाकिम जिल्लाका विभिन्न उपविभाग र मातहतका सरकारी कार्यालयहरूमा पनि यो प्रतिज्ञा कार्यक्रम एकसाथ सञ्चालन गरिएको थियो। ‘नशामुक्त भारत अभियान’ को उद्देश्य अनुरूप आयोजना गरिएको यस जिल्लाव्यापी पहलले लागुऔषध विरुद्धको लडाइँमा सामुदायिक सहभागिता र जनचेतना बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

About Author

Advertisement