पाकिममा एनएच-७१७ए सडक विस्तारबारे उच्चस्तरीय बैठक, मुआब्जा र सुरक्षामा जोड

IMG-20260429-WA0081

पाकिम: सिक्किमको नाम्चेबुङ ब्लक अन्तर्गत वेलकम गेट नजिकै एनएच-७१७ए को प्रस्तावित विस्तारका क्रममा उब्जिएका समस्या र समाधानका उपायबारे छलफल गर्न बिहीबार पाकिम जिल्ला प्रशासनिक केन्द्रमा महत्वपूर्ण बैठक सम्पन्न भएको छ। शिक्षा, खेलकुद तथा युवा मामिला मन्त्री राजु बस्नेतको अध्यक्षतामा बसेको उक्त बैठकमा लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा, जिल्लापाल पारी बिश्नोई, एडीसी पुल्कित, एनएचआईडीसीएलका प्रतिनिधिहरू सहित प्रभावित क्षेत्रका जग्गाधनी र स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। बैठकमा मुख्य गरी सडकको एलाइन्मेन्ट, प्राविधिक सम्भाव्यता, जग्गा अधिग्रहण र निर्माणका क्रममा अपनाउनुपर्ने सुरक्षा मापदण्डका विषयमा केन्द्रित रहेर घनिभूत छलफल गरिएको छ।
​कार्यक्रमलाई सम्बोधन गर्दै सांसद डा. इन्द्रहाङ सुब्बाले पहाडी क्षेत्रको समग्र विकासका लागि मजबुत पूर्वाधारको आवश्यकता रहेको बताउनुभयो। उहाँले विकासका आयोजनाहरू समयमै सम्पन्न हुनुपर्नेमा जोड दिँदै प्रभावित जग्गाधनीका चिन्ता र समस्यालाई उचित ढङ्गले सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो। परियोजनालाई सहज रूपमा अघि बढाउन सरकारी विभाग, निर्माण कम्पनी र स्थानीय बासिन्दाबीच प्रभावकारी समन्वय हुनुपर्नेमा उहाँको जोड थियो। सांसद सुब्बाले विकासका काममा आउने प्राविधिक बाधालाई आपसी समझदारीमा सुल्झाउन आह्वान समेत गर्नुभएको छ।
​त्यस्तै मन्त्री राजु बस्नेतले एनएचआईडीसीएलका अधिकारीहरूलाई परियोजनासँग जोडिएका जनचासोका विषयमा तत्काल स्पष्टीकरण दिन र प्राविधिक पक्षको जाँच गरी छिटो निर्णय लिन निर्देशन दिनुभएको छ। जग्गाधनीहरूले उठाएका सुरक्षा र मुआब्जा सम्बन्धी मागहरूलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै मन्त्री बस्नेतले विकासले सर्वसाधारणलाई मर्का पार्न नहुने स्पष्ट पार्नुभयो। जिल्लापाल पारी बिश्नोईले पनि प्रशासनिक औपचारिकता र जग्गा अधिग्रहणको प्रक्रियालाई पारदर्शी ढङ्गले चाँडो सुरु गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ। बैठकमा सहभागी स्थानीय बासिन्दा र जग्गाधनीहरूले सडक विस्तार गर्दा आफ्ना थातथलोको सुरक्षा र उचित क्षतिपूर्तिको सुनिश्चितता हुनुपर्ने माग राख्दै विभिन्न रचनात्मक सुझावहरू पेस गरेका थिए।

About Author

Advertisement