साहित्यिक, सांस्कृतिक प्रस्तुतिसँगै देश-विदेशमा नाम कमाउने प्रतिभाहरू सम्मानित
पाकिम: सिक्किम प्रतिभा प्रतिष्ठान, पाकयोङको आयोजनामा शनिबार पाकयोङ सामुदायिक भवनमा ५२औँ ‘गोरेटो बिसौनी’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। ज्ञाथाङ माचोङ क्षेत्रकी विधायक एवं सामाजिक कल्याण विभागकी सल्लाहकार पामिन लेप्चाको मुख्य आतिथ्यमा सम्पन्न यस गरिमामय समारोहमा साहित्य, अनुसन्धान र खेलकुदका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पाकयोङ जिल्लाको नाम रोशन गर्ने ११ जना विशिष्ठ प्रतिभाहरूलाई सम्मान गरियो। सम्मानित हुनेहरूमा साहित्य एकेडेमी पुरस्कार विजेता युवा बराल ‘अनन्त’, विभिन्न विषयमा विद्यावारिधि (पीएचडी) हासिल गर्ने शोधकर्ताहरू डा. छिरिङ चोमु भोटिया, डा. सुरेन सुब्बा, डा. देवान लिम्बू, डा. अभिषेक खतिवडा, डा. हिस्से पाल्मु शेर्पा, डा. दिव्या राई तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा स्वर्ण र रजत पदक जित्न सफल खेलाडीहरू बीरेन्द्र मंगर, छेवाङ लेन्डुप भोटिया, प्रतीक्षा सुन्दास र रिकिला भोटिया रहनुभएको छ। यसका साथै पाकयोङस्थित भानु बाटिका निर्माणमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई पनि मुख्य अतिथिद्वारा स्मृति चिन्ह प्रदान गरी सम्मानित गरियो।

समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथि पामिन लेप्चाले साहित्यिक कार्यक्रमहरूले समाजलाई सही दिशा र मार्गदर्शन प्रदान गर्ने बताउँदै डिजिटल युगमा पनि युवाहरूले रचनात्मक लेखनमार्फत ठूलो योगदान दिन सक्ने उल्लेख गर्नुभयो। सम्मानित व्यक्तित्वहरूको तर्फबाट बोल्दै साहित्यकार युवा बराल ‘अनन्त’ ले यस्ता सम्मानले भावी पुस्तालाई प्रेरणा दिने बताउँदै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को यस युगमा लेखक र कलाकारहरूले आफ्नो मौलिकता जोगाउन सचेत रहनुपर्ने कुरामा जोड दिनुभयो। त्यस्तै, वरिष्ठ साहित्यकार कमल काफ्लेले समाजलाई सांस्कृतिक विकृतितर्फ जानबाट रोक्न र आफ्नो मौलिक पहिचान तथा परम्पराप्रति सजग रहन आह्वान गर्नुभयो। प्रतिष्ठानका सदस्य सीएल शर्माले संस्थाको उद्देश्य भाषा, साहित्य र संस्कृतिको जगेर्ना गरी भावी पुस्तामा हस्तान्तरण गर्नु रहेको स्पष्ट पार्नुभयो। उक्त अवसरमा विभिन्न विद्यालयका विद्यार्थीहरू तथा वरिष्ठ कविहरूद्वारा कविता वाचन, लोकनृत्य र सुमधुर गीतहरू प्रस्तुत गरिएको यस कार्यक्रममा पाकयोङ नगर पञ्चायतका अध्यक्ष इन्चुङ भोटियालगायत विभिन्न विभागका अधिकारी, पञ्चायत सदस्य, शिक्षक, विद्यार्थी र सर्वसाधारणको ठूलो उपस्थिति रहेको थियो।











