खरसाङ: खरसाङको अम्बटे चियाबारी अन्तर्गत पाँचघरे ग्राम सुधार वेल्फेयर समितिले आफ्नो ६१औं स्थापना दिवस समारोह भव्य रूपमा पालन गर्यो।यसभन्दा पूर्व समिति अध्यक्ष बलराम प्रधान्,गाउँका मूल पुजारी गणेश छेत्री,पूर्वाध्यक्ष कान्छा लुङ्गेली आदिद्वारा श्री जलपा देवी मन्दिर गई गाउँको सुरक्षा,शान्ति,एकता औ सम्वृद्धिको निम्ति देवीको सदा अनुग्रह रहिरहोस भन्दै श्रद्धा भावसहित विधिवत रूपमा पूजा-अर्चना गरियो।त्यसपछि स्थानीय पाँचघरे सार्वजनिक भवनमा सम्पन्न यस स्थापना दिवस समारोह समिति अध्यक्ष बलराम प्रधानको अध्यक्षतामा आयोजित गरियो। यस समारोहमा प्रमुख अतिथि भूपाल राई, विशिष्ट अतिथिहरू मा क्रमैले सर्वश्री दिपक थापा, अध्यक्ष वरिष्ठ नागरिक कल्याण संगठन, भुतपूर्व अध्यक्ष कान्छा लुङ्गेली, बगाउँका मूल पुजारी गणेश छेत्री आदिको उपस्थिति रहेको थियो। प्रमुख अतिथि औ विशिष्ट अतिथिगणलाई सम्मान जनाउँदै खदार्पण गरियो।त्यसपछि समिति अध्यक्ष बलराम प्रधान,प्रमुख अतिथि भूपाल राई, मूल पुजारी गणेश छेत्री औ वरिष्ठ नागरिक कल्याण संगठनका अध्यक्ष दिपक थापाद्वारा धुप दीप प्रज्वलन गरि समितिको ६१औं स्थापना दिवसको केक काटियो। समारोहमा समिति उपाध्यक्ष प्रणय प्रधानले स्वागत भाषण राखे। उनले यस भव्य समारोहमा उपस्थित सम्पूर्ण ग्रामवासीलाई समितिको ६१औं स्थापना दिवसको उपलक्ष्यमा हार्दिक बधाई औ शुभकामना दिए। यसभन्दा पूर्व गाउँका दिवंगत सदस्यहरूका स्मरण गर्दै दुई मिनटको निम्ति मौन धारण गरियो। समारोहमा गाउँका विशिष्टगण लगायत वरिष्ठ नागरिक कल्याण संगठनका सम्पूर्ण सदस्यगण, श्री १११ सत्य साई बाल-विकास केन्द्रका गुरूजन,श्री सत्य साई संरक्षण कमिटिका कार्यकारीणीगण, गाउँका ११ वटा स्वनिर्भर दलका दिदी-बहिनी औ सम्पूर्ण ग्रामवासी सदस्यगणको उपस्थिति रहेको थियो।
समारोहमा छोटो सम्भाषण राख्दै निलम कुमार गिरीले दिन-दिनै हामीबाट सामाजिक भावना हराउँदै गईरहेको कुरा राखे। पुर्वजहरूले हाम्रो निम्ति भनेर खडा गरिदिएको यो समिति हाम्रो धरोहर र अस्तित्व पनि हो।हामीले समिति प्रति संवेदनशील रही यसको उत्तरोतर प्रगतिको निम्ति कर्तव्यनिष्ठ हुनपर्दछ।यसै क्रममा गणेश छेत्रीले आफ्नो मन्तव्य राख्दै समिति भनेको सबैको साझा सम्पति हो,यसमा सबैको आ-आफ्नो प्रकारको योगदान रहेको हुनुपर्दछ। यसरी नै वरिष्ठ सल्लाहकार फुर्वा घिसिङले समितिद्वारा बेला-बेलामा साहित्यिक कार्यक्रम औ खेल-कुद जस्ता कार्यक्रमको पनि आयोजना गरिए असल हुने थियो भने। यसै क्रममा समिति अध्यक्ष औ प्रमुख अतिथिद्वारा गाउँका पुजारीद्वय गणेश छेत्री र भरस थापालाई सम्मान जनाउँदै स्मृति चिन्ह प्रदान गरियो।
त्यसरी नै गाउँका एघारावटै स्वनिर्भर दलका सभानेत्रीहरूलाई उनीहरूले गाउँ समितिलाई पुर्याउँदै आइरहेको योगदानको कदर गर्दै खदार्पण गरि स्मृति चिन्ह प्रदान गरियो। यसरी नै यस वर्ष आई० सी. एस. इ. परीक्षामा उत्कृष्ट अंक हासिल गरि उतीर्ण गर्ने विद्यार्थीद्वय रियान राणा औ रोयल थापालाई प्रोत्साहन प्रदान गर्दै स्मृति चिन्ह प्रदान गरियो।त्यसरी नै गाउँका फ्रेन्डस ग्रुपलाई गाउँमा सक्रिय रूपले जुन योगदान पुर्याई रहेको छ त्यसको सराहना औ कदर गर्दै समिति अध्यक्ष बलराम प्रधान औ प्रमुख अतिथि भूपाल राईको बाहुलीबाट स्मृति चिन्ह प्रदान गरियो। यस समारोहमा समिति कोषाध्यक्षा सुषमा थापाले समितिको आय व्ययको विवरणबारे प्रतिवेदन पेश गरिन्। कार्यक्रमको अन्त्यमा समिति अध्यक्ष बलराम प्रधानले आफ्नो अध्यक्षीय सम्भाषणमा गाउँमा मरौं-परौं परेको बेलामा समितिद्वारा एकमुष्ठ सहयोग राशिको रूपमा दशहजार रूपियाँ सित्थैमा सहयोग राशि प्रदान गरिने घोषणा गरे औ यो आजको दिनदेखि प्रभावी रहनेछ।तिनले आफ्नो सम्भाषणमा विगतमा समितिको अवस्था राम्रो थिएन यसलाई आजको स्थितिमा ल्याउँन गाउँका धेरै वरिष्ठ समाजसेवीहरूको अथक योगदान रहेको प्रकास पारे।अन्त्यमा, तिनले यस समारोहमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।










