सिलगढी: विश्व प्रसिद्ध दार्जीलिङ हिमालयन रेलवे (डीएचआर) ले प्राकृतिक विपत्ति र भौगोलिक चुनौतीहरूले पनि आफ्नो ऐतिहासिक ‘टोय ट्रेन’ को लोकप्रियतालाई कम गर्न नसकेको प्रमाणित गरिदिएको छ।
पहाडी क्षेत्रमा निरन्तर गइरहने पहिरो र मार्ग अवरोधका बाबजुद यो हेरिटेज रेलवेले सन् २०२६ को मे र जुन महिनामा अहिलेसम्मकै सबैभन्दा बढी राजस्व सङ्कलन गरेर नयाँ कीर्तिमान कायम गरेको छ। शनिवार सुकना रेलवे स्टेसनमा आयोजित १४५ औँ विश्व सम्पदा टोय ट्रेन दिवसका अवसरमा डीएचआरका निर्देशक ऋषभ चौधरीले यो सुखद जानकारी साझा गर्नुभएको हो।
कार्यक्रममा बोल्दै निर्देशक चौधरीले देश-विदेशका पर्यटकहरूमाझ दार्जीलिङ टोय ट्रेनको आकर्षण निरन्तर बढिरहेको बताउनुभयो। उहाँका अनुसार सन् २०२६ को मे महिनामा टोय ट्रेनले करिब ३.९५ करोड भारु ऐतिहासिक राजस्व आर्जन गरेको थियो भने जुन महिनामा यो रेकर्ड पनि तोडिँदै करिब ३.९८ करोड भारु आम्दानी भएको छ, जुन अहिलेसम्मकै सर्वकालीन उच्च रेकर्ड हो।
ऐतिहासिक दार्जीलिङ हिमालयन रेलवेले ४ जुलाई १८८१ का दिन सिलीगुडीदेखि दार्जीलिङसम्मको आफ्नो पहिलो यात्रा सुरु गरेको थियो। यसै ऐतिहासिक महत्त्वलाई जोगाउन नर्थ बङ्गाल पेन्टर्स एशोसिएशनको पहलमा सुकना रेलवे स्टेसनमा भव्य कार्यक्रम आयोजना गरियो। कार्यक्रममा कला, संस्कृति र सम्पदा संरक्षणको सुन्दर सङ्गम देखियो, जसमा ठुलो सङ्ख्यामा कलाकार, विद्यार्थी र स्थानीय बासिन्दाहरूको सहभागिता थियो। यस अवसरमा चित्रकला प्रतियोगिता, प्रत्यक्ष चित्रकला सत्र, सांस्कृतिक प्रस्तुति र चेतनामूलक अभियानहरू सञ्चालन गरिएका थिए।
निर्देशक चौधरीले पहाडी क्षेत्रमा बारम्बार जाने पहिरो टोय ट्रेन सञ्चालनका लागि मुख्य चुनौती बनेको स्वीकार गर्नुभयो। यस समस्याको स्थायी समाधानका लागि नेशनल हाइवेज एण्ड इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कर्पोरेशन लिमिटेड (एनएचआईडीसीएल) सँग छलफल भइसकेको छ। आगामी दिनमा डीएचआर र एनएचआईडीसीएलले संयुक्त रूपमा काम गरी मार्गका अवरोधहरू हटाउने र यो ऐतिहासिक रेलवे सेवालाई अझ सुरक्षित र सहज बनाउने योजना बनाएका छन्।










