पश्चिम सिक्किममा एसडीएफ पार्टीको समष्टिस्तरीय सभा जारी

IMG-20230729-WA0447.jpg

गान्तोकः सिक्किम बचाऔँ अभियानअन्तर्गत पश्चिम सिक्किममा एसडीएफ पार्टीको समष्टिस्तरीय सभा निरन्तर रूपमा जारी छ। यसैक्रममा आज चौथो सभा योक्सोम टासिडिङ समष्टिको चोङराङ खेल मैदानमा सम्पन्न भयो। पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व मन्त्री ओटी भोटियाले अध्यक्षता आयोजित सभामा वरिष्ठ उपाध्यक्ष तथा पूर्व विधानसभा अध्यक्ष केटी ग्याल्छेन विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। सभामा अन्य पदाधिकारीहरूसहित स्थानीय जनताको व्यापक उपस्थिति रहेको थियो।

सभालाई सम्बोधन गर्ने क्रममा पूर्व विधानसभा अध्यक्ष के.टी. ग्याल्छेनले एसडीएफ पार्टीमा विभिन्न जात-जाति, धर्म, वर्ग र पेशाका समर्थक भए पनि पार्टीको नीति-सिद्धान्तले हामीलाई एकै ठाउँ जोडेको छ भने। पवन चामलिङको उच्च विचारधारामा एकबद्ध छौँ, अनि एसडीएफ पार्टीको सिद्धान्तमा हामी केवल सिक्किमे हौं भने। एसडीएफ पार्टी सामाजिक प्रजातन्त्रवादी नेता चामलिङको कुशल नेतृत्वमा रहेको सिक्किमेली जनताको पार्टी हो भनी उनले बताए। अध्यक्षीय सम्बोधनमा ओटी भोटियाले परिवर्तनको नाममा बाटो भुलेर एसकेएम पार्टीको सरकार गठन गरेको महाभूललाई आज जनताले स्वीकारेका छन् भनी बताए। युवाहरूले पवन चामलिङ मात्र सिक्किमलाई रक्षा गर्ने सही नेता हुन् भन्ने विषय बुझेर एसडीएफ पार्टीमा सामेल बनिरहेको उनले बताए।

परिवर्तनलाई आत्मसात गरेर जनताले एसकेएम पार्टीलाई सरकारमा राखे पनि चार वर्ष बित्दा पनि एसडीएफ पार्टीले भन्दा कुनै ठोस र राम्रो काम गर्न नसकेको बताउँदै टासिडिङ आउने पुल नजिकको जीर्ण सडक आजसम्म मरम्मति नभएकोमा खेद प्रकट गरे। यसै क्रममा उनले २०२४ मा एसडीएफ सरकार आउनसाथ योकसम टासिडिङ समष्टिको समग्र विकासका निम्ति काम गर्ने पार्टीको पक्षबाट प्रतिबद्धता जाहेर गरे। यसरीनै भोटियाले विधायकले सरकारी सहुलियत सुङ्गुर, घर, च्यादर आदि बाढेर जनतालाई अल्मल्याउने काम गरिरहेका छन्, सरकारले त समष्टि र जनताको सर्वाङ्गीन विकास गर्नु सक्नुपर्छ, जनताको आयस्रोत र जीवनस्तर बढाउन सक्नु सही विकास हो, भने। एसडीएफ पार्टी र नेता पवन चामलिङलाई साथ दिनोस् अनि सिक्किमलाई सुरक्षित र विकसित बनाऔं भनी भोटियाले आग्रह गरे।

About Author

Advertisement